काठमाडौँ – आइतबार सम्पन्न चार दिने १३औँ इक्यान शैक्षिक मेला वर्षाका कारण ५० हजार जनाले मात्र अवलोकन गरेको आयोजकले बताएको छ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको मेलामा करिब एक लाखको सहभागिता रहने अपेक्षा गरिएको थियो।
इक्यानका महासचिव शेषराज भट्टराईले अविरल वर्षाका कारण केही समस्या आए पनि समग्रमा मेला सफल भएको बताए। मेलाबाट विद्यार्थी तथा उनीहरुका अभिभावकहरुले विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि र एजुकेशन कन्सलटेन्सीका परामर्शदाताहरुबाट काउन्सेलिङ पाएका छन्, उनले भने।
मेलामा अष्ट्रेलिया, जापान, अमेरिका, युके, न्यूजिल्याण्ड, क्यानडा, भारत, चीन, बंगलादेश लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अभिभावकहरुलाई करिअर काउन्सेलिङ गरिएको थियो।
मेलाको दोस्रो दिन डा. समीरमणि दीक्षितले सहभागी विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिएका थिए। उनले उच्च शिक्षाका लागि विदेशी मुलुक जान कुनै आपत्ति नमान्न आग्रह गरे। ‘उच्च शिक्षाका लागि विदेश जानु राम्रो हो, तर विदेशमा गुणस्तरीय शिक्षा लिएर नेपाल फर्कन सकियो भने निकै राम्रो हुन्छ,’ उनको भनाइ थियो। पहिलेको तुलनामा अहिले विदेशमा पढेर फर्कनेको संख्या बढिरहेको उनले उल्लेख गरे।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गरेको मेलामा तीन सयभन्दा बढी स्टल राखिएका थिए। आयोजकका अनुसार चारै दिन रक्तदान तथा प्राथमिक उपचार शिविर सञ्चालन गरिएको थियो। मेलामा नेपाल फोटो पत्रकार महासंघले सुन्दर नेपाल शिर्षकको फोटो प्रदर्शनी पनि गरेका थियो।