काठमाडौँ – नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थराज खनियाँ र आईजीपी सर्वेन्द्र खनालले समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदानप्रदानसमेत गरे।
सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउँदै अपराध रोकथाम गर्न, सुरक्षा व्यवस्थापनमा जनसहयोग र समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न प्राज्ञिक क्षेत्रको विज्ञता र महत्वपूर्ण भूमिकालाई मनन गर्दै नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा अनुरूप संस्थागत साझेदारीको निर्माण एवं कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
समझदारीपत्रमा अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग, पाठ्यक्रम विकास, अध्ययन अनुसन्धान, सूचनाको आदान प्रदान, श्रोत व्यक्ति तथा स्वयंसेवक सम्बन्धी व्यवस्था, सुरक्षा सचेतना अभिवृद्धि, प्रकाशन, क्षमता अभिवृद्धि, सूचना प्रविधिको विकास, व्यवहारिक अभ्यास, इन्टर्न्सिप, विद्युतीय पुस्तकालय, सुरक्षित विश्वविद्यालयको अवधारणा, भ्रमणको आदानप्रदान र साझेदारी कार्यान्वयनको लागि सम्पर्क विन्दु लगायतका विषय समेटिएका छन्।
उक्त अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. खनियाँले सम्झौतापत्रका विषयवस्तु ज्यादै महत्वपूर्ण रहेको चर्चा गर्दै नेपाल प्रहरीले गर्ने सेवामा विश्वविद्यालयकोतर्फबाट गर्नुपर्ने योगदान दिन विश्वविद्यालय तयार रहेको बताए। यस साझेदारीको माध्यमबाट हुने विचार, अनुभव र विज्ञताको आदान–प्रदानबाट व्यावसायिक कार्यसम्पादन अभिवृद्धि गर्न सहयोग पुग्नेसमेत उनले बताए।
आईजीपी सर्वेन्द्र खनालले समझदारीपत्रमा हस्ताक्षर महत्वपूर्ण भएकाले उपलब्धीपूर्ण हुने विश्वास व्यक्त गरे। मर्यादित मानिने सुरक्षा निकाय र अध्ययन अध्यापन क्षेत्रसँगको सहकार्यलाई नियमित रुपमा अगाडि बढाउँदै थप उपलब्धीमुलक बनाउन तत्कालै समझदारी कार्यान्वयन गर्न अगाडि बढ्ने प्रतिबद्धता उनले जनाए।
विश्वविद्यालयसँगको सहकार्यले सामाजिक सांस्कृतिक पक्षहरुसँग जोडिएका अपराधका विविध पक्षहरुको सम्बन्धमा गहिरो सोध एवं अनुसन्धान गरी निदानका उपायहरुको खोजि गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।