वीरगंज – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारसँग बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्न हेलिकोप्टरको माग गरेका छन्। प्रदेशका पर्सादेखि सप्तरीसम्म आठ जिल्लामा छिटोछरितो राहत बाँड्न तथा प्रभावकारी अनुगमन गर्न हेलिकोप्टरको आवश्यक रहेको मुख्यमन्त्री राउतले बताए।
उनले प्रदेश २ विपदको दृष्टिले अत्यन्त जोखिममा रहेकाले तत्काल प्रदेश सरकारलाई एउटा हेलिकोप्टर उपलब्ध गराउन संघीय सरकारसँग माग गरे। बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बुधबार जनकपुर आइपुगेको संघीय मन्त्री मण्डलको टोलीलाई बाढीले ल्याएको विपद र समस्याबारे जानकारी गराउँदै उनले यस्तो माग गरेका हुन्। प्रदेश सरकारले राहत तथा उद्धारको लागि तत्काल आठ जिल्लाको विपद व्यवस्थापन समितिलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराएको, मृतकको परिवारलाई ३ लाखको दरले राहत दिने निर्णय गरिएको पनि मुख्यमन्त्री राउतले जानकारी दिए।
प्रदेश सरकारको ब्रिफिङपछि उपप्रधानमन्त्री उपेन्द्र यादवले विपद व्यवस्थापनमा तीन तहका सरकारलाई समन्वय गरेर अघि बढ्नुको विकल्प नरहेको बताए। उनले बाढीपहिरोको दीर्घकालीन व्यवस्थापनका लागि चुरे संरक्षणमा विशेष जोड दिनुपर्ने, चुरे क्षेत्र भएर राजमार्गजस्ता सडकहरुको निर्माण निषेध गर्नुपर्ने, मानव बस्ती क्रमशः घटाएर वृक्षारोपण गर्नु पर्ने आवश्यकता औँल्याए।
निरीक्षण टोलीमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुन, सांसदहरु अनिल झा, प्रभु साहसहितको सहभागी थिए। टोली रौतहट, सर्लाही, महोत्तरी, सप्तरी, सिरहाको स्थलगत निरीक्षण गर्दै प्रदेशको राजधानी जनकपुर पुगेको थियो। टोलीले बाढीबाट उत्पन्न परिस्थिति, राहत तथा उद्धार कार्यको अवस्था र दिर्घकालीन व्यवस्थापनका सम्बन्धमा प्रदेश सरकारसँग जानकारीसमेत लिएको थियो।