चितवन – भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन्।
क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरू बस्दै आएको कुर्सी, र टेबुल पूर्णरूपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएको छ। बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरूको समूहले आगजनी गरेको हो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी एकनारायण कोइरालाले आगजनीका कारण भएको क्षतिको विवरण आइनसकेको जानकारी दिए। आगो विद्यार्थी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो। यसअघि सहायक क्याम्पस प्रमुखका कार्यकक्षमा विद्यार्थीले लगाएको ताला क्याम्पस प्रशासनले तोडेको थियो।
सो क्रममा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएकाले त्यसको विरोधमा भट्टराईका समर्थकहरूले आज आगजनी र तोडफोड गरेकाे अनेरास्ववियुका क्याम्पस कमिटीका अध्यक्ष लीलाराम पौडेलले जानकारी दिए। (रासस)