काठमाडौँ - शुरूमा फागुन र त्यसपछि वैशाखमा गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबारेको चर्चा अहिले सेलाएको छ। गत फागुनमै म्याद सकिएको स्ववियुको निर्वाचन फागुन १४ गतेभित्र गर्ने भन्दै त्रिभुवन विश्वविद्यालयले एक समितिसमेत बनाएको थियो। समितिले काम गर्न नसकेपछि वैशाखमा गर्ने भनिएको निर्वाचन हुन सकेन।
त्यसपछि निर्वाचनका लागि त्रिविले हालसम्म कुनै पनि प्रक्रिया शुरू गरेको छैन। त्रिविले निर्वाचनका लागि सरोकारवालासँग छलफलसमेत गरेको छैन। प्रमुख राजनीतिक दलका विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियू, नेपाल विद्यार्थी संघलगायतका विद्यार्थी संगठनले पनि त्रिविलाई स्ववियु निर्वाचन गराउनका लागि दबाब दिन लगभग छोडेको जस्तै देखिन्छ।
निर्वाचनको च्याप्टर क्लोज भइसक्यो : अनेरास्ववियू
यसअघि तत्काल निर्वाचन गराउनु पर्छ भन्नेमा उभिएको र त्रिविलाई ज्ञापनपत्रसमेत बुझाएको सत्तारुढ दल नेकपाको विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियू तत्काल निर्वाचन हुनुपर्छ भन्ने पक्षमा नरहेको जनाएको छ।
उसले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गराउनुपर्ने उसले नयाँ ‘बटमलाइन’ अघि सारेको छ। एकीकरणमा ढिलाइहुँदा अनेरास्ववियूका तल्ला तहले पूर्णता पाउन सकेका छैनन्। नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको संयोजकमा पूर्वएमाले निकट अनेरास्ववियुका महासचिव ऐन महर र सह–संयोजकमा पूर्वमाओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले जिम्मेवारी पाएका छन्। तर, अन्य तहमा भने अझै एकीकरण हुन सकेको छैन। त्यही कारण अनेरास्ववियूले तत्काल स्ववियु निर्वाचन गर्न नचाहेको देखिन्छ।
अनेरास्ववियूका संयोजक महरले तत्काल निर्वाचन हुने सम्भावना नरहेको बताए। त्यसका लागि पछिल्लो समयमा त्रिविका पदाधिकारीसँग निर्वाचनबारे सामान्य छलफलसमेत हुन नसकेको उनले जानकारी दिए। उनले भने, ‘अहिले निर्वाचनको विषय अप्रासङ्गिक छ। निर्वाचन गराउने विभागमा नयाँ पदाधिकारी आउँदैछन्। त्यसैले साउन महिनाभित्रै कार्यकाल सकिएर जाने पदाधिकारीसँग छलफल गरेका छैनौँ। नयाँ आउने पदाधिकारीसँग फागुनमा निर्वाचन गर्ने गरी छलफल गर्छौं।’
त्यस्तै त्रिभुवन विश्वविद्यालय (सिनेट) सदस्य एवं आर.आर क्याम्पसका स्ववियु सभापति तपेन्द्र्रजंग शाही पनि फागुनमै निर्वाचन गर्नुपर्ने तर्क गर्छन्। शाहीले भने, ‘हाम्रो संगठन पनि अहिले एकीकरणको प्रक्रियामा छ। नेविसंघको त केन्द्रीय समिति नै छैन। त्यसकारण अहिले निर्वाचनको ‘च्याप्टर क्लोज’ भइसक्यो। अब फागुनमा निर्वाचन हुन्छ।’
हार्ने डरले चुनाव सारिँदैछ : नेविसंघ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय समिति नै छैन। नेविसंघको केन्द्रीय समिति विघटन गरिएकोे छ। त्यसका कारण नेविसंघले निर्वाचन नचाहेको कतिपय बताउँछन्। तर, नेविसंघका नेताहरू भने उक्त आरोपलाई ठाडै अस्वीकार गर्छन् र जतिसुकै बेला निर्वाचन गराए पनि सहभागी हुने उनीहरूको भनाइ छ।
नेविसंघका निवर्तमान सभापति नैनसिंह महरले तत्काल निर्वाचन गर्नुपर्ने माग गरे। उनले वर्तमान सरकार आफ्नो विद्यार्थी संगठनले पराजय भोग्ने डरले अनेक बहाना बनाउँदै चुनाव सार्ने षडयन्त्रमा लागेको आरोप लगाए।
उनले भने, ‘वर्तमान सरकार जनतामाझ अलोकप्रिय बनेको छ। सरकारप्रति जनता आक्रोशित छन्। यस्तो अवस्थामा आफ्नो विद्यार्थी संगठनले हार्छ भनेर सरकारले नै चुनाव गराउन चाहिरहेको छैन।’ उनले चुनाव गराउनका लागि त्रिविका पदाधिकारीलाई दबाब दिँदा पनि माग सुनुवाइ नभएको गुनासो गरे। उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली त्रिविका कुलपति हुन्। उहाँले जतिबेला पनि मिति तय गर्न सक्नुहुन्छ। तर सरकारप्रति जनता असन्तुष्ट हुँदा चुनाव उहाँले चुनाव गराउन चाहनु भएको छैन।’
नेविसंघकै महामन्त्री कुन्दनराज काफ्लेले आफूहरू निर्वाचन गर्नुपर्ने पक्षमा रहेको बताए। यसअघि फागुनमा गर्ने भनिएको निर्वाचनको छलफलमा नेविसंघ गएको थिएन। उनले भने, ‘औपचारिक पत्र नआएका कारण छलफलमा नेविसंघ सहभागी भएन। हामी सधैँ निर्वाचनको पक्षमा छौँ। त्रिविले हाम्रो पार्टीको विद्यार्थी विभागलाई पत्र लेखेर बोलायो भने हामी छलफलमा जान्छौँ।’ उनले केन्द्रीय समिति विघटन भएको अवस्थामा पनि निर्वाचनमा जान तयार रहेको भन्दै थपे, ‘सबै कुरा केन्द्रीय कमिटी मात्रै हो भन्ने हैन। केन्द्रीय कमिटी मात्रै त विघटन भएको हो, अन्य त पहिलेका सबै समिति छँदैछन्।’
उनले पनि वर्तमान दुई तिहाइको सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाए। उनले भने, ‘सरकार निर्वाचन गराउन चाहँदैन। अनेक बहाना बनाएर निर्वाचनबाट भागिरहेको छ।’ उनले निर्वाचनमा लागि लगातार दबाब दिइरहेको भन्दै चुुनावको मिति घोषणा नगरिए नेविसंघ आन्दोलनमा जाने चेतावनी दिए।
के भन्छ त्रिवि ?
हरेक दुई वर्षमा हुने प्रावधान रहेको स्ववियु निर्वाचन यसअघि २०७३ फागुन १८ गते भएको थियो। गत फाुगन १८ गते स्ववियु म्याद सकिएको छ। त्रिभुवन विश्वविद्यालयको अतिरिक्त क्रियाकलाप विभागका निर्देशक गंगबहादुर थापामगरका अनुसार स्ववियुको म्याद छमहिना थप गरिएको छ। यसको अर्थ हो- तत्काल स्ववियु निर्वाचन नहुनु।
थापामगरले पनि निर्वाचनबारे नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थीकै जस्तो धारणा व्यक्त गरे। तत्काल निर्वाचन हुने कुनै सम्भावना नरहेको बताउँदै थापा मगरले भने, ‘अब विभिन्न तहका परीक्षा शुरू भइसकेका छन्। फागुन १४ भन्दा अगाडि निर्वाचन गराउने अवस्था छैन।’ उनले फागुन १४ मा निर्वाचन गराउन त्रिवि तयार गरेको जनाए।
फागुन १४ मा स्ववियु निर्वाचन गर्नुपर्ने भनेर त्रिवि पदाधिकारी र नेकपाको विद्यार्थी संगठनले एउटै धारणा सार्वजनिक गरिरहँदा त्यसलाई नेविसंघले चुनाव नगर्ने षडयन्त्रका रूपमा लिएको छ। सत्तारुढ दलको दबाबमा त्रिविले तत्काल गर्न सकिने निर्वाचनलाई फागुनका लागि तय गरेको नेविसंघको बुझाइ छ।