काठमाडौँ – नेपालमै पहिलो पटक बहिरा कलाकारद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। बहिरा कलाकार सुजल बमद्वारा अभिनित ‘झिम झिम परेली’ बोलको गीतको भिडियो एक समारोहबीच शुक्रबार सार्वजनिक गरिएको हो।
भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय, संगीत नाट्य कला प्रतिष्ठानका अध्यक्ष नारायण भक्त श्रेष्ठलगायत अन्य संगीतकार, गायकगायिकाहरुको उपस्थिति थियो। वरिष्ठ गीतकार तथा उपन्यासकार उपाध्यायको शब्द रहेको गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन्। कविता शिवाकोटीको स्वर रहेको यस गीतलाई वसन्त सापकोटाले निर्देशन गरेका छन्।
फरक क्षमता भएकी सुजल बम फेसन ऐराद्वारा आयोजित मिस्टर एण्ड मिस एसईईको चौँथो रनर अप पनि हुन्। यही सफलताका साथ उनी पछिल्लो समय निकै चर्चा बटुल्न सफल पनि भएकी थिइन्। न सुन्न न त बोल्न नै सक्ने सुजलको यो पहिलो म्युजिक भिडियो हो। यो म्युजिक भिडियोको सार्वजनिक सँगै उनले एभरेष्ट वर्ल्ड रेकर्ड कायम गरी सम्मान प्राप्त गरेकी छन्।
कार्यक्रममा सुजलका बुबा टेक बमले आफ्नो छोरीले यस्तो सफलता पाएकोमा र अपाङ्गता भए पनि कोहीभन्दा कमी हुँदैन भन्ने उदाहण बनेकोमा खुसी व्यक्त गरे। अपाङ्ग बालबच्चाहरुलाई उनीहरूभित्र भएकाे प्रतिभालाई बाहिर ल्याउन बुबाआमाले प्रोत्साहित गर्नुपर्ने उनले बताए।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/LxrB_-z6HxY