काठमाडाैँ, ४ माघ – अभिनेत्री ऋचा शर्माले आफूलाई हार्ट अट्याक नभएको बताएकी छन्।
सञ्चारमाध्यममा हार्ट अट्याक भएको खबर बाहिरिए पनि आफूलाई सामान्य छाती मात्र दुखेको उनले जानकारी दिएकी छन्। बुधबार अचानक छाती दुखेपछि उनी नर्भिक अस्पतालमा उपचारका लागि पुगेकी थिइन्।
आफ्नो स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र आफूलाई हार्ट अट्याक नभएको बिहीबार साँझ फेसबुकमा एक स्टाटस लेख्दै उनले बताइन्।
उनले लेखेकी छन्, ‘अहिले म सामान्य छु। सामान्य छाती मात्र दुखेको हो। मेरो चिन्ता लिनुहुने सम्पूर्णलाई धन्यवाद। अरु जानकारी दिँदै गर्नेछु।’
नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालको चिकिस्तीय टोलीले अहिले उनको उपचार गरिरहेको छ।
प्राप्त जानकारी अनुसार उनलाई एन्जियोप्लास्टु गरिसकिएको छ। अहिले सामाजिक सञ्जालमा शुभचिन्तक तथा चलचित्रकर्मीहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
ऋचा शर्मा अभिनित तथा निर्मित चलचित्र ‘सुनकेसरी’ यस वर्ष प्रदर्शनमा आएको थियो। भर्सटायल नेपाली अभिनेत्रीको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ । उनी अभिनीत नयाँ चलचित्र ‘न यता न उता’ प्रदर्शनको पखाईमा छ।