काठमाडौँ – कास्कीको लेखनाथ निवासी शिवनाथ अधिकारीको ‘छरिएका पानाहरू’ नामक कृतिका विमोचन गरिएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृतिको पूर्व सहायक मन्त्री दीनवन्धु अर्याल र प्रा.डा. गोविन्द नेपालले विमोचन गरे।
१९ यात्रा संस्मरण र निवन्ध तथा २५ कविता समावेश गरिएको कृतिको प्रकाशन शारदा अधिकारी र सम्पादन मुकुन्द अर्यालले गरेका छन्। विमोचन कार्यक्रमका प्रमुख अतिथि पूर्व सहायक मन्त्री अर्यालले अधिकारीले लेखेको ‘छरिएका पानाहरू’ नेपाली साहित्यसँगै विश्व साहित्यसम्म चिहाउने आँखीझ्यालको रुपमा आएको बताए।
प्रा.डा. गोविन्द नेपालले कृतिमा लेखिएको बुढो माले गोरुसम्बन्धी निवन्ध वर्तमान नेपाली राजनीतिमा देखिएको खोलो तर्ने लौरो बिर्सने विसंगति प्रष्टाउन सफल रहेको बताउँदै कृति अत्यन्त पठनीय रहेको बताए। समीक्षक अच्युत घिमिरेले लेखकको कृति पहिलो भए तापनि अत्यन्त स्तरीय रहेको र आगामी दिनमा उत्कृष्ठ साहित्य जन्माउन सक्ने प्रचूर सम्भावना लेखकमा रहेको उल्लेख गरे।
लेखक अधिकारीले आफ्नै गाउँ ठाउँ देश परदेशको अनुभव संगालेर लेखिएको यस कृतिले समाजलाई केही बौद्धिक खुराक दिन सकेमा आफनो प्रयास सार्थक हुने बताए। उनले पाठकहरूलाई रचनात्मक सुझाव दिन पनि आाग्रह गरे।