रामबहादुर थापा, बागलुङ - ‘जति माया लाए पनि...’ गीत मधुरो स्वरमा गुञ्जिरह्यो। सङ्गीतप्रेमी झुमिरहे। प्रेक्षालयमा छिनमै गहिरो मौनता छाउँथ्यो भने घरी वाहीवाही चल्थ्यो। आइतबारको छिप्पिँदो साँझ बागलुङका लागि भिन्न बन्यो।
साउन ५ गायक अरुण थापाको स्मृति दिवस। बागलुङमा यसपालि मुर्चुङ्गा कलाकार समूहले अरुणलाई सम्झियो। समूहले २०औँ स्मृति दिवस पारेर ‘अरुण स्मृति साँझ’को तारतम्य मिलाएको थियो। आफ्ना प्रिय गायकको सम्झनामा गायक किशोर थापा, प्रेम बुढा, हुमन थापालगायत मञ्चमा थिए।
वाद्यवादनमा पोखरादेखि आएका विनोद गुरुङ (गितार), मनोज बाँस्तोला (किबोर्ड) र गुप्त गुरुङ (अक्टोप्याड)ले सघाएका थिए। गायक किशोर थापाले अरुणका लोकप्रिय गीत ‘ऋतुहरूमा तिमी’, ‘दोष कसैलाई दिन चाहन्नँ’, ‘चोट के हो व्यथा के हो’ लगायत गाएका थिए। प्रेम बुढा र हुमनले ‘जति माया लाए पनि’ युगल गीत गाए।
सामूहिक गायनमा ‘करोडौँ मुटुहरूको...’ गीत गुञ्जिँदा दर्शकदीर्घाले पनि सँगै गुन्गुनाए। अरुणका दर्जन बढी चर्चित गीत कार्यक्रममा प्रस्तुत भए। गायक अरुण थापाको सम्मानमा स्मृति साँझको आयोजना गरिएको समूहका अध्यक्ष किशोर थापाले बताए।
“अरुण थापा नेपाली सङ्गीत क्षेत्रको विशिष्ट प्रतिभा हुनुहुन्छ,” उनले भने, “उहाँको व्यक्तित्व र योगदानलाई चिरस्थायी बनाउनुपर्छ ।” अरुणले विसं २०३४ मा गाएको ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हाैँ’ बीबीसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा पर्न सफल थियो।
नेपाली सुगम सङ्गीतलाई विश्वजगतमा चिनारी गराउने श्रेय पनि गायक अरुणलाई जान्छ। विसं २००९ माघ ११ गते जन्मिएका अरुणको २०५६ साउन ५ मा निधन भएको थियो। ४७ वर्षको छोटो आयु बाँचे पनि अरुणले नेपाली समाजलाई कालजयी गीत दिएका छन्।
विगतमा नेपाल मगर विद्यार्थी सङ्घले ‘अरुण स्मृति साँझ’ आयोजना गर्ने गरे पनि यो वर्ष पहिलोपटक मुर्चुङ्गा कलाकार समूहले गरेको हो। स्मृति साँझका प्रमुख अतिथि नेपाल मगर सङ्घका केन्द्रीय सदस्य एवं तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले राज्यले अरुणलाई सम्मान गर्न नसकेको गुनासो गरे।
“अरुण थापा त देशकै पहिचानका रूपमा हुनुहुन्छ,” उनले भने, “राज्यका तहबाटै उहाँको सम्झना गरिनुपर्थ्याे, विडम्बना त्यो अहिलेसम्म हुनसकेको छैन।” विगतदेखि नै मगर समुदायले विशेष रूपमा अरुण थापाको स्मृति दिवस मनाउँदै आएका छन्।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागलुङका अध्यक्ष सङ्गम घर्तीमगरले अरुण थापाको जीवनीबारे प्रकाश पारेका थिए। अरुण थापाको योगदानको सम्झनास्वरूप स्मृति साँझ राखिएको कार्यक्रम संयोजक मन पुनले बताए।
“नयाँ पुस्तामाझ अरुण थापालाई चिनाउनु पनि कार्यक्रमको उद्देश्य हो,” उनले भने। अरुणले विसं २०३२ मा रेडियो नेपालमा स्वरपरीक्षा उत्तीर्ण गरेपछि आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको सङ्गीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुने ठूलो छ संसार’ बोलको गीत ‘रेकर्ड’ गराएका थिए। उनको पहिलो गीतले सोचेजति सफलता पाउन सकेन। विसं २०३४ को अन्त्यतिर गाएको ‘ऋतुहरूमा तिमी’ र २०३६ मा सार्वजनिक ‘जति माया लाए पनि’ बोलको गीतले अरुण थापालाई एकाएक चर्चामा ल्याएको थियो। (रासस)