काठमाडौँ – पिठ्यूँमा भरिभराउ झोला थियो। झोलाभरि थिए, प्रमाणपत्र, अनि पत्रपत्रिकाका कटिङ। जीउ अलि मोटो भए पनि दिमाग तीखो बनाएर आर्जन गरेको सम्पत्ति थियो झोलाभरिका प्रमाणपत्र, अनि पत्रपत्रिकाका कटिङ– फिडे मास्टर (एफ.एम) मनीष हमालको। बुद्धिचाल (चेस) खेल्दै मनीषले विद्यालयस्तरदेखि अन्तर्राष्ट्रिय उपाधि जित्दै आधा दर्जनभन्दा बढी कीर्तिमान कायम गरेका छन्। उनले तिनै प्रमाणपत्र पल्टाउँदै सुनाए खेलजीवनका अनुभव, खुशियालीसँगै गुनासो पनि:
‘मितदाइले सिकाए’
स्व.बुबा माधव हमाल र आमा जुनु हमालको कोखबाट २०४२ साल माघ १० गते कपिलवस्तुमा जन्मेका मनीष सानो हुँदा नै काठमाडौँ आएका हुन्। उनको बसाइ तारकेश्वर नगरपालिका– ११, नेपालटार, हिलेडोलमा छ। उनले एसएसलीसम्म तरुण माध्यमिक विद्यालय, बालाजुमा बढे। उनका मितबुबाका छोरा (मितदाइ) थिए, बबी कार्की। भक्तपुर घर भएका कार्की चेसका खेलाडी थिए।
मनीष सानो छँदादेखि नै बिदाको मौका पारेर मितदाइकोमा पुगिहाल्थे। उनका मितदाइ भने चेस खेल्नमै ब्यस्त रहन्थे। चेस सिक्दाका दिनहरू सम्झिँदै मनीषले भने, ‘मितदाइले एकोहोरो चेस खेलेको देख्दा मलाई पनि खेलौँखेलौँ लाग्थ्यो। मितदाइलाई चेस खेल्न सिकाउन अनुरोध गरेँ। उहाँले सिकाइदिनुभयो। अनि त्यसपछि खेल्दै जान थालेँ।’
मनीष मितदाइबाट निकै प्रभावित भइसकेका थिए। त्यसै कारण पनि उनको चेसप्रति लगाव बढ्दै थियो। विद्यालयमा वार्षिक रूपमा विभिन्न प्रतियोगिता पनि भइरहन्थे। विद्यालयमा हुने प्रतियोगितामध्ये चेस खेलमा सहभागिता जनाउने मनीषले कहिल्यै द्वितीय हुन परेन। अनि उनमा चेसप्रतिको लत पनि बस्दै गयो। उनले त्यसैलाई निरन्तरता दिन थाले।
सोह्रखुट्टेस्थित कुमारी क्लबले २०५० सालमा आयोजना गरेको १६ विद्यालय सहभागी चेस प्रतियोगितामा पनि उनले प्रथम स्थान हासिल गरे। उनी चेसप्रतिको ज्ञानलाई अझै बढाउन चाहन्थे। तर, त्यो समयमा कुनै सामग्री थिएन, चेससम्बन्धी। त्यत्तिकै खेल्दै सिक्दै गए।
२०५३ सालमा नेपालभरि र भारतका विद्यालय सहभागी हुने अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताबारे पत्रिकामा सूचना पढे। भगवतीप्रसाद शर्मालगायतका व्यक्तिहरूले चाबहिलमा आयोजना गरेको प्रतियोगितामा मनीष द्वितीय बने। त्यसको दुई वर्षपछि आयोजना भएको बालमन्दिर अन्तरविद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा सातमा सात प्वाइन्ट ल्याउँदै मनीषले विद्यालयस्तरमा इतिहास रच्न सफल भए।
म्युजिक छोडेर बुद्धिचालमा
बुद्धिचालमा केही वर्ष बिताएका मनीष सङ्गीत क्षेत्रमा भने सानैदेखि रूचि राख्थे। विद्यालयस्तरमा हुने गायन प्रतियोगिता पनि उनी कहिल्यै छुटाउँदैनथे। कक्षा ८ मा पढ्दा एक दिन उनले गीत गाए। त्यो गीत गोपाल योञ्जनकी श्रीमती रेन्छिन योञ्जनले पनि सुनेकी रहिछिन्।
त्यसको एक महिनापछि गोपाल योञ्जनको स्मृति सभा आयोजना गरिन लागिएको रहेछ। मनीषको गीतबाट प्रभावित बनेकी रेन्छिनले उक्त स्मृति सभामा मनीषलाई गीत गाउन लगाउने योजना बनाइसकेकी थिइन््। उनले मनीषलाई घरमै आएर भेटिन् र स्मृति सभामा एउटा गीत गाउन आग्रह गरिन्।
उनले त्यसको तयारीका लागि एउटा सङ्गीतकारको व्यवस्था गरिदिनेसमेत भनेर मनीषलाई आफ्नो घर आउन आग्रह गरिन्। तर, मनीष गएनन्। उक्त अवसर गुमाएको सम्झँदै मनीषले अगाडि भने, ‘पारिवारिक समस्याका कारण म उहाँ (रेन्छिन योञ्जन)को घरमा जान सकिन। पछि चार महिनापछि ‘किन आएनौ ?’ भनेर पनि सोध्नुभयो र भन्नुभयो, ‘तिमीले आफ्नै खुट्टामा बञ्चरो हान्यौ।’
हुन त चेस खेलमा लागेर पनि उनले नामसँगसँगै दाम पनि राम्रै कमाएका छन्। तर, सङ्गीत क्षेत्रलाई पनि निरन्तता दिन सकेको भए अझै केही धेरै गर्र्न सकिने रहेछ भन्ने अहिले मनीषलाई लाग्ने गरेको छ। उक्त अवसर गुमाएकोमा मनीष केही मात्रामा पश्चाताप पनि गर्छन्। एसएसलपछि सङ्गीतको कक्षासमेत लिएका मनीष अन्ततः सङ्गीत छोडेर चेस खेलमै रमाए र अझै पनि त्यसैमा रमाइरहेका छन्।
नेपालको पहिलो ‘फिडे मास्टर’
स्कुले जीवनमै चेस खेलेर सफलता प्राप्त गर्न सफल मनीष सङ्गीत छोडेपछि पूर्णतया चेस खेलमै लागे। एकपछि अर्को सफलता पाउँदै जान थालेपछि मनीषले ‘प्लस टु’ भर्ना भए पनि न त विद्यालय जान नै पाए न त परीक्षा दिन। उनले पढाइलाई अघि बढाउन सकेनन्। चेस प्रतियोगितामै उनी ब्यस्त हुन थाले।
एकपछि अर्को सफलता प्राप्त गर्दै गए मनीषले विद्यालयस्तरका प्रतियोगिता हुँदै सिनियर सहभागी हुने प्रतियोगितामा समेत सहभागिता जनाउन थाले। उनले त्यहाँ राम्रो प्रभाव जमाउन थाले। उनले शुरूमा सिनियरसँग खेल्दा परिणाम निकाल्न सफल नभए पनि प्र्रत्येक खेलमा उनले कोही न कोही सिनियर खेलाडीलाई भने पराजित गरेर छोड्थे। त्यही कारण उनलाई पूर्वच्याम्पियन बद्रीप्र्रसाद नेपालीलगायतका सिनियर खेलाडीले भन्ने गर्थे, ‘मनीषले राम्रो गर्छ, एक दिन अवश्य सफलता प्राप्त गर्नेछ।’
अन्ततः चेस खेलप्रतिको मेहनत, लगनशिलता र निरन्तरताले उनलाई बनायो नेपालको पहिलो फिडे मास्टर। चेसमा ठूला चार उपाधि हुन्छन्। पहिलो– ग्य्राण्ड मास्टर, दोस्रो– इन्टरनेशनल मास्टर, तेस्रो– फिडे मास्टर र चौथो– क्यान्डिडेट मास्टर।
सन् २००८ मा ‘नेपाल च्याम्पियन सीप’को उत्कृष्ट पाँचभित्र पर्न सफल मनीषले सन् २००८ मै जर्मनीमा भएको ‘चेस ओलम्पियाड’ मा नेपालको तर्फबाट फिडे मास्टरको उपाधि पाउनेको सूचीमा पहिलो नम्बरमा नाम लेखाए। नेपालको तर्फबाट ‘फिडे मास्टर’को उपाधि पाउने पहिलो नेपाली बन्दाको सम्झना उनमा ताजै छ। उनी भन्छन्, ‘मिहिनेत नगरी जीवनमा सफल भइँदैन। मैले पनि अवसर पाएँ र सोही अवसरको सदुपयोग गर्दै फिडे मास्टरको उपाधि जितेँ। उपाधि पाइरहँदा मलाई त्यत्रो उपाधि जिने भन्ने विश्वास नै लागेको थिएन।’
उक्त उपाधि जित्दा उनमा खुशी पनि किन नहोस्, गर्भको महसुस किन नहोस् र उपाधि जित्दा पनि कसरी विश्वास लागोस् ? जुन उपाधिले उनले आफ्नो मात्रै होइन, देशले नै इतिहास रचेको थियो त्यो दिन। नेपालले पाएको थियो, पहिलो फिडे मास्टर। मनीषपछि हाल नेपालका सुरेन्द्रप्रसाद श्रेष्ठ, विलयलाल श्रेष्ठ, रूपेश जैसवाल र रिजेन्द्रराज भण्डारीले फिडे मास्टरको उपाधि पाएका छन्।
एकपछि अर्को सफलता, नयाँ–नयाँ रेकर्ड
फिडे मास्टरपछि उनको परिचय फेरियो। पहिले साथीभाइमाझ मात्रै चिनिएका मनीषलाई धेरैले चिन्न थाले। उनका समर्थक (फ्यान) बढे। यतिसम्म कि उनलाई बाटो, ट्याक्सी जता भेटे पनि धेरैले अटोग्राफ लिन्थे भने क्यामेरा हुनेहरूले फोटो। उपाधि जितेपछि नेपालमा चेस खेलका समर्थक मात्रै बढेनन्, प्रतियोगिता हुने क्रम पनि बढ्यो।
यसअघि नगन्य मात्रामा हुने चेस प्रतियोगिता देशभरि नै हुन थाल्यो। त्यो समयमा नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशी थिए। उनले त्यतिबेला एक वर्षमा ३६ प्रतियोगिता आयोजना गरे नेपालभर।
एकपछि अर्को सफलता प्राप्त गर्ने क्रम उनको रोकिएन, बढ्दै गयो। सफलतासँगै नयाँ कीर्तिमान कायम राख्दै गए मनीष। उनी भन्छन्, ‘मैले फिडे मास्टरको उपाधि जितेपछि कुनै क्षेत्रबाट सहयोग पाइनँ। सहयोग पाएको भए धेरै माथि पुगिसक्थेँ। तर पनि हार खाइनँ। मात्र त्यसैमा लागिरहेँ। अझै पनि लागिरहेको छु।’
चेसलाई मनीषले निरन्तरता दिँदै गए र एकपछि अर्को सफलता हात पार्दै नयाँ–नयाँ रेकर्ड कायम गर्दै गए। फिडे मास्टरको उपाधि जितेको अर्को वर्ष लेवनानमा पनि उनीलगायतको नेपाली टोलीले नयाँ सफलता प्र्राप्त गर्दै कीर्तिमान कायम गर्यो। एशियन सिटिज् टिम च्याम्पियनशिपमा उनीसहित सुरविर लामा, बलराम नापित, सुरेन्द्रप्रसाद श्रेष्ठको टोली टप–५ मा स्थान बनाउन सफल भयो। त्यो नेपालका लागि नयाँ रेकर्ड थियो। यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले ‘टप ५’ मा स्थापन बनाउन सकेका थिएन।
त्यसपछि सन् २०११ मा कोलकातामा पनि बिलो–२१०० रेटेट प्रतिस्पर्धामा पनि मनीषले द्वितीय हुँदै नयाँ रकेर्ड कायम गर्न सफल भए। उक्त प्रतियोगितामा त्यसअघि नेपालका खेलाडीले चौथो स्थान मात्रै बनाउन सकेका थिए। अर्को वर्ष उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हात पारे। सन् २०१२ को अन्तिमतिर भएको धुव्रतारा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरेका थिए।
हाल नेपाल च्याम्पियनको दोस्रो स्थानमा रहेका मनीषले सन् २००७ मा भएको एक राष्ट्रिय प्रतियोगितामा फाइनल राउण्ड नखेलेरै उपाधि जितेका थिए।
जन्माउँदै नयाँ खेलाडी
अझै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका मनीष सन् २०१० देखि चेस खेलका नयाँ खेलाडी जन्माउँदै छन्। उनले हालसम्म करिब आधा दर्जन विद्यालयमा चेस खेलको प्र्रशिक्षकका रूपमा काम गरिसकेका छन्।
उनले ग्रिनल्याण्ड स्कुल टोखा, दिपज्योति स्कुल बसपार्क, रातो बङ्गला स्कुल, गोल्डेन पिस स्कुल, पायोनियर स्कुललगायतमा प्रशिक्षकको रूपमा काम गरेका छन्। त्यहाँ सयौँ चेसका खेलाडी उत्पादन गरेका छन्।
नेपालकै पहिलो फिडे मास्टरको उपाधि जित्न सफल मनीषले पहिलो महिला फिडे मास्टर उत्पादन गरेका छन्। जुन नेपालको बुद्धिचाल खेलमा नयाँ कीर्तिमान हो। पहिलो महिला फिडे मास्टरको उपाधि जित्न सफल (एफएफएम) सुजना लोहनीलाई तिनै मनीषले ग्रिनल्याण्ड विद्यालयमा चेस खेल्न सिकाएका थिए। हाल उनी महिलामा नेपाल च्याम्पियन छन्।
आफैँले सिकाएको विद्यार्थीले पहिलो महिला फिडे मास्टरको उपाधि जित्दा साह्रै गर्व लागेको थियो मनीषलाई। त्यो दिनको खुशी सम्झिँदै उनले सुनाए, ‘त्यो मेरा लागि सबैभन्दा खुशीको क्षण थियो। आफूले फिडे मास्टरको उपाधि जित्दा पनि बढी खुशी भएँ। रातभरि नसुतेरै प्रत्यक्ष खेल हेरेको थिएँ उक्त खेल।’
श्रीमती अस्मिताका साथमा मनीष ।
आफ्नो योजनाबारे सुनाउँदै मनीष भन्छन्, ‘हालसम्म चेस खेलेरै जीवन बिताएँ। अब पनि त्यसैमा समर्पित हुन्छु। आफूले सिकेको सिप अरूलाई बाँड्छु।’ हाल पनि व्यक्तिगत रूपमा समेत कोचिङ दिइरहेका उनले त्यसलाई पनि निरन्तरता दिने योजना बनाएका छन्।
सरकारप्रति गुनासो र सुझाव
प्रत्येक व्यक्तिको केही न केहीको लत हुन्छ। मनीषमा भने चेसको लत छ। उनी चेसलाई नै जीवन ठान्छन्। चेस के हो ? तपाईं चेसलाई कसरी बुझ्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘यो एक बौद्धिक खेल हो। कम्प्युटरमा एन्टी भाइरसले जसरी काम गर्छ, त्यसरी नै चेसले मानिसको दिमागका एन्टी भाइरसजस्तै काम गर्छ।’
विद्यार्थीलाई चेस खेल्न उनले सुझाव दिए। त्यसबारे प्र्रष्ट्याउँदै उनले थपिहाले, ‘मैले धेरै विद्यालयमा विद्यार्थीलाई चेस सिकाएको छु। त्यो अनुभवले के देखाउँछ भने जो विद्यार्थी राम्रो चेस खेल्छ, ऊ पढ्नमा पनि राम्रो हुन्छ।’
नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका मनीष युवाहरूको चेसखेलप्रति रूचि घट्दै गएकोप्रति चिन्तित देखिन्थे। उनले निराश हुँदै सानो स्वरमा भने, ‘चेसमा युवाहरू भविष्य (स्कोप) देख्दैनन्। शुरूमा पढ्नेहरू पनि त्यसलाई निरन्तरता दिँदैनन्। त्यस कारण राज्यले चेस खेलका लागि केही गर्नुपर्छ।’
चेसमा रहेका ठूला चार उपाधि ग्य्राण्ड मास्टर, इण्टरनेशनल मास्टर, फिडे मास्टर र क्याण्डिडेड मास्टरमध्ये नेपालले हालसम्म दुई उपाधि मात्रै पाएको छ। तेस्रो फिडे मास्टर र चौथो क्याण्डिडेड मास्टर। सरकारले सहयोग गरेमा नेपालले ग्राण्ड मास्टर नै पाउने उनी दाबी गर्छन्।
सरकारप्रति गुनासो गर्दै उनी आग्रह गर्छन्, ‘नेपालका खेलाडीले पनि ग्राण्ड मास्टरको उपाधि जित्ने क्षमता राख्छन्। तर, त्यसका लागि सरकारी तवरबाट सहयोग हुनुपर्छ। चेस खेललाई प्राथमिकता दिनुपर्छ।’ एक जना ग्राण्ड मास्टर ल्याएरै एक डेढ वर्ष प्र्रशिक्षण गरेमा त्यो सम्भव उपाधि हात पार्न सकिने उनको भनाइ छ।