‘अध्यात्म’को बाटो अत्यन्त उत्तम छ। यसमा पनि समाजले लखेट्न त आउँछ तर उसले भेट्नै सक्दैन। आत्मचिन्तन गर्न र ‘अद्वैत’ भावमा पुग्न उद्यत् मानिसलाई कसले समाउने, कसले छेक्ने ? आफ्नो स्वरूप ‘शिवोऽहम्’ मा पुग्दा विरोधी वा अर्को वस्तु नै नहुने रहेछ, मात्र आनन्द हुने रहेछ, अहिले म त्यही हुँ। ईश्वर खोज्दै हिँड्दा आफैँलाई भेटिँदोरहेछ। आफूलाई खोजे ईश्वर र ईश्वरलाई खोजे आफू ! ईश्वर, आत्मा र शिवोऽहम्बाहेक अन्य सबै मिथ्या हुन्। यही मोक्ष र परमानन्द पनि हो।’
दामोदर गौतमद्वारा लिखित वेदादिशास्त्र समाज र कलियुग तथा नेपालको दलीय राजनीति नामक पुस्तकका यी शब्दले नै गौतमको वर्तमान जीवनबारे धेरै कुरा प्रष्ट पार्छ। यसबाट नै धेरै मानिसले उनीबारे सहजै अनुमान लगाउन सक्छन्। संस्कृत छोडेर अङ्ग्रेजी पढ्न थालेपछि राजनीतिमा सक्रिय भएका गौतम पछिल्लो समयमा राजनीतिक मोक्ष र परमानन्दको ‘अध्यात्म’मा रमाइरहेका छन्। किशोरावस्थादेखि नै ‘परोपकार पुण्याय’ बाटो अँगाल्दै आएका गौतम कुनै बेलाका जुझारु कांग्रेस नेता हुन्। उनी अझै पनि २०२२ सालदेखि नेपालमा प्रजातान्त्रिक समाजवादी राजनीतिबाट मात्र मुलुकको कल्याण हुन्छ भन्ने बीपी कोइरालाको आदर्शको बाटो र गणेशमान सिंहको साहसमा हिँडिरहेका छन्। तर, त्यो आदर्श र चिन्तन लिएर हिँडेका गौतमको बाटो जीवनको उत्तराद्र्धमा आएर एकाएक परिवर्तन भएको छ। गौतम २०३८ सालदेखि वीर अस्पतालस्थित सञ्जीवनी सेवा संघमार्फत असहाय, गरिब र दीनदुःखी बिरामीको सेवामा तल्लीन हुँदै आएका छन्। उनी २०३८ सालमा सञ्जीवनी सेवा संघको आजीवन सदस्य बनेका थिए। २०४८ सालदेखि उक्त संस्थाको अध्यक्ष भएर अहिलेसम्म निरन्तर असहाय र गरिब बिरामीको सेवामा लाग्दै आनन्द लिइरहेका छन् गौतम।
जीवनका ७४औँ वसन्त पार गर्न लागेका गौतम नेपाली जनताको हक र अधिकारका लागि लड्दा १० वर्षभन्दा बढी जेलजीवन नै बिताइसकेका छन्। उनको परिचय यतिमा मात्रै सीमित छैन। नीडर, स्पष्ट वक्ता तथा धार्मिक नेताको स्वच्छ छवि बनाएका गौतम जीवनका अनेकन भोगाइ र अनुभवबारे नेपाली पब्लिकसँगको कुराकानीका क्रममा खुलेरै प्रस्तुत भए।
संस्कृत छोडेर राजनीति
२००२ साल कात्तिक २३ गते काठमाडौँको स्युचाटार–७ (हालको नागार्जुन नगरपालिका–१४) मा स्व. पिता भुवनेश्वर र स्व. माता शुभद्रा गौतमको कोखबाट जन्मिएका गौतम सानैदेखि धर्मकर्ममा सहभागी हुन्थे। बुबाआमाका कारण धर्मकर्ममा सहभागी हुने गौतमले प्रारम्भिक शिक्षा पनि संस्कृतमै लिए। सो क्रममा उनी गुरुकुल भाषा पाठशालालगायतका पाठशालामा पढे। १२ वर्षको हुँदा उनका पिता भुवनेश्वरको मृत्युपछि उनको पढाइ नै छुट्यो। उनी पितामाताका एक्लो छोरा हुन्। पिताको मृत्युपछि घरको जिम्मेवारी उनको काँधमा आयो। निम्न मध्यम वर्गीय परिवारका भए पनि ११/१२ रोपनी जग्गा भएकाले लाउन खान पुगिरहेकै थियो। पिताको मृत्युपछि छुटेको पढाइलाई उनले निरन्तरता दिने सोच बनाएर कालिमाटीको जनप्रभात हाई स्कूलमा भर्ना भए। त्यहाँ अंग्रेजीको पनि पढाइ हुन्थ्यो।
आफ्नो राजनीतिक जीवनको शुरूआतलाई सम्झिँदै उनी भन्छन्, ‘राजनीति त गाउँमै गर्न थालिसकेको थिएँ। जनप्रभातमा पढ्न थालेपछि त झण्डा नै बोकेर हिँड्न थालेँ।’
नेविसंघको संस्थापकदेखि कार्यवाहक अध्यक्षसम्म
२०२२ सालमा गौतम राजनीतिमा त आए तर पार्टी खोल्ने अधिकार थिएन। पञ्चायती व्यवस्थाका कारण त्यही बेला उपत्यका छात्र संगठन, पश्चिमाञ्चल छात्र संगठन, मध्यमाञ्चल छात्र संगठन र पूर्वाञ्चल छात्र संगठन खुलेर विद्यार्थी गतिविधिका नाममा निरंकुश पञ्चायती व्यवस्थाविरुद्धका आन्दोलन चलिरहेका थिए। ती विद्यार्थी संगठनमा सबै पार्टीनिकट विद्यार्थीहरू सहभागी थिए। गौतम पनि उपत्यका छात्र संगठनमा सक्रिय भए। त्यो संगठनका नेपाली कांग्रेसनिकट विद्यार्थीहरूले नेपाल विद्यार्थी संघ (नेविसंघ) स्थापना गरे, त्यसका संस्थापकमध्ये एक जना थिए– दामोदर गौतम।
विपिन कोइराला, मार्सल जुलुम शाक्य, शिवबहादुर खड्का, देवेन्द्रलाल नेपाली, शेरबहादुर देउवा, अर्जुननरसिंह केसीलगायतका विद्यार्थीहरू नेविसंघका संस्थापक थिए। पछि नेविसंघको अधिवेशन गर्ने भनियो र मिति पनि तय गरियो। खुल्ला रूपमा चुनाव गर्न पाइँदैनथ्यो। २०२६ चैत २६ गतेका लागि अधिवेशनको मिति तोकियो। निर्वाचन आयुक्त रामचन्द्र पौडेललाई बनाइएको थियो। त्यतिबेला कृष्णप्रसाद भट्टराई ९ वर्षको जेल बसाइबाट मुक्त भएका थिए। उनले नै नेविसंघको अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो। तर, त्यही बेला उनी बिरामी परेका कारण २०२७ साल वैशाख ६ गतेका लागि अधिवेशनको मिति सारियो।
गौतम सम्झिँदै भन्छन्, ‘त्यतिबेला पनि नेविसंघमा दुई गुट बनेको थियो। अधिवेशन स्वयम्भूमा शुरू भयो, किसनुजीले उद्घाटन गर्नुभएको थियो। त्यही बेला प्रहरीले थाहा पाएर हाम्रो अधिवेशनस्थललाई घेर्ने प्रयास गर्याे। त्यसपछि हामी त्यहाँबाट भाग्यौँ र दोस्रो सत्र चोभार तथा तेस्रो सत्र पशुपतिनाथको राममन्दिरमा पुगेर सम्पन्न गर्याैं । तेस्रो सत्रबाट विधान पारित गरिएको थियो। त्यहाँ पनि प्रहरीले थाहा पाएर धेरै विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउ परे। हामी त्यहाँबाट पनि भाग्यौँ। अब नेविसंघको निर्वाचन हुन त बाँकी नै थियो, पुलिसले दुःख दिएको दियै गरेको छ, कहाँ गर्ने निर्वाचन ? ठूलो समस्या भयो। अन्त्यमा त्रिभुवन विश्वविद्यालयभित्र नेविसंघको निर्वाचन गर्ने निर्णय गरेर त्यहीअनुसार सदस्यहरूलाई सूचना पठाइयो। धेरै विद्यार्थीहरू पक्राउ परिसकेकाले निर्वाचनमा जम्मा ६८ जना मात्र हामी प्रतिनिधि जम्मा भयौँ।
त्रिभुवन विश्वविद्यालयमा नेविसंघको पहिलो निर्वाचन सम्पन्न गरेको सम्झँदै उनी भन्छन्, ‘अन्य ठाउँमा प्रहरीले चुनाव गर्नै दिएन। त्यसैले त्रिभुवन विश्वविद्यालयमा प्रहरी प्रवेश नगर्ने हुँदा त्यहीँ चुनाव गराउने निर्णयमा हामी पुगेका थियौँ। निर्वाचन आयुक्त रामचन्द्र पौडेललाई बनाइएको थियो। तर, पौडेलले नेविसंघको पहिलो निर्वाचनमा पनि धाँधली गरेर हार्नेलाई जित्ने र जित्नेलाई हार्ने बनाइदिए। उनले जम्मा ६८ मतदाता भएको अवस्थामा आफ्ना पक्षका विपिन कोइरालालाई जिताउन ८२ भोट बनाए। रामचन्द्र गुटको पक्षबाट विपिन कोइराला अध्यक्षका उम्मेदवार थिए भने हाम्रो पक्षबाट मार्शल जुलुम शाक्यलाई अध्यक्षको उम्मेदवार बनाएका थियौँ। सहभागी ६८ जना प्रतिनिधिमध्ये मार्शलजुलुम शाक्यले ३८ मत र विपिन कोइरालाले ३० भोट मात्रै पाएका थिए। तर, रामचन्द्रले धाँधली गरेर प्रतिनिधि नै नभएका व्यक्तिलाई चिट दिँदै विपिनको पक्षमा भोट खसाल्न लगाई ४४ मत संख्या पुर्याइदिए। वास्तवमा त्यतिखेर पौडेलले ठूलै फट्याइँ गरे। हामीले त यस परिणामलाई मान्दैमानेका थिएनौँ। तर, मार्शल जुलुम शाक्यले जो अध्यक्ष भए पनि नेविसंघको निर्वाचन सम्पन्न भयो। एउटा आधिकारिकता पाएको छ, अब धेरै लफडा नगरौँ। यसैलाई स्वीकारौँ भनेपछि हामी सबै शान्त भएका थियौँ। अहिले पनि पौडेलसँग भेट भएको अवसरमा उनले गरेको त्यो धाँधली मैले सम्झाउने गर्छु।’
नेविसंघको संस्थापक सदस्य रहेका गौतम पछि नेविसंघको कार्यवाहक अध्यक्षसमेत बने। २०२८ सालमा अध्यक्ष बनेका शेरबहादुर देउवा जेलपरेपछि उनले २०२९ सालदेखि २०३६ सालसम्म कार्यवाहक अध्यक्ष बनेर नेविसंघको नेतृत्व गरेका थिए।
पटकपटक गरी १० वर्ष जेल
२०२२ सालदेखि कांग्रेसमा आवद्ध गौतम राजनीतिमा सक्रिय हुनुअघि नै जेल परिसकेका थिए। स्थानीय क्षेत्रमा राजनीति गर्न शुरू गरेका गौतमलाई पहिलो पटक ‘जनसेवा काण्ड’ले २०१८ सालमा प्रहरीको हिरासतमा पुर्याएको थियो। त्यो बेला न्यूरोडको जनसेवा सिनेमा हलमा भएको घटनालाई ‘जनसेवा काण्ड’ भनिन्छ। एक दिन साँझ चलचित्र सकिँदै गर्दा सिनेमा सञ्चालककी श्रीमतीसँग एक जना तरकारीको खर्पन बोकेको ज्यापू ठोक्किँदा ती महिलाले ज्यापूलाई लछारपछार गरेपछि स्थानीयहरू सिनेमा हल मालिकको विरुद्ध उग्र भएका थिए। आक्रोशित भीडले सिनेमा हल नै जलाइदिएको थियो। उक्त काण्डमा गौतमको संलग्नता नभए पनि उनलाई प्रहरीले पक्राउ गरी थुन्यो। उनले त्यो बेला प्रहरी हिरासतमा तीन रात बिताउनुपर्याे ।
अहिले पनि नेपाली कांग्रेसको महासमिति सदस्य रहेका गौतम प्रजातान्त्रिक आन्दोलन, सत्याग्रह, प्रथम तथा दोस्रो जनआन्दोलनमा गरी १० वर्षभन्दा बढी जेल बसेका छन्। २०४२ को सत्याग्रहमा गौतम केन्द्रीय सञ्चार विभाग प्रमुख र वाग्मती अञ्चल प्रमुखका रूपमा पार्टीमा क्रियाशिल थिए। त्यसैगरी २०४६ सालको जनआन्दोलनमा उनी केन्द्रीय संघर्ष समितिका सदस्य थिए। सोही क्रममा पक्राउ परेका गौतमलाई मातृशोक पर्यो। जेलमा रहेका कारण माताको क्रिया गर्न नपाउने अवस्था आयो। धेरै पटक आग्रह गरेपछि प्रहरीले पञ्चायतको विश्वासपात्रले जमानत बसेपछि मात्र १३ दिनका लागि छोडिदिने कुरा गर्याे। त्यतिबेला अर्जुननरसिंह केसी नुवाकोट जिल्ला पञ्चायतका सभापति थिए। गौतमले केसीलाई प्रहरीको कुरा सुनाएपछि केसीले प्रहरीमा कागज गरेर १३ दिनका लागि छुटाए। १३ दिनका लागि जेलबाट छोडिएका गौतम जेल फिर्ता हुनुको साटो फेरि २०४६ सालको जनआन्दोलनमा होमिए।
सांसदको उम्मेदवारी र कांग्रेसकै छ जना बागी
२०५१ सालमा गिरिजाप्रसाद कोइरालाले बहुमतको सरकार विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरे। त्यही समयमा पार्टीले गौतमलाई पनि काठमाडौँको क्षेत्र नं. ६ का लागि सांसदको उम्मेदवार बनायो। कांग्रेसभित्र चरम द्वन्द्व थियो। गणेशमान सिंहले खुलेरै गिरिजा मार्का उम्मेदवारलाई हराउन आह्वान गरेका थिए। गौतम भने गिरिजाप्रसादको तर्फबाट उम्मेदवार बनेका थिए। भूतले खाजा खाने समयमा उम्मेदवार बनेका गौतमका विरुद्धमा कांग्रेसकै छ जनाले बागी उम्मेदवारी दिए।
उनले भने, ‘मलाई हराउनका निम्ति आफ्नै पार्टीका साथीहरू लागे। मेराविरुद्ध छ जना बागी उम्मेदवार उठाइयो र अन्ततः मलाई हराएरै छोडियो।’
आफूलाई हराउनका लागि आफ्नै पार्टीका नेता लाग्नुलाई उनी अनौठो मान्दैनन्। राजनीतिमा एकले अर्कोको खुट्टा तान्ने प्रवृत्तिलाई संसारको चलनका रूपमा उनले लिने गरेका छन्। त्यसैले त उनले आफ्नो वेदादिशास्त्र समाज र कलियुग तथा नेपालको दलीय राजनीति नामक पुस्तकमा लेखेका छन्, ‘समाज सेवामा त खुट्टा तान्ने र आलोचना गर्नेको कमी हुन्न भने राजनीतिमा तँछाड–मछाड हुनु स्वाभाविक हो। खराब र गलत मानिसले विभिन्न प्रपञ्च र षडयन्त्र गर्छन् र असल चरित्र र वास्तविक मानिस वा नेतालाई ठीक ठाउँमा पुग्न दिँदैनन्। यही नै संसारको चलन वा रीति देखिएको छ।’
२०५१ सालको मध्यावधि निर्वाचनमा पराजय भोगेपछि कुनै पनि निर्वाचनमा उम्मेदवार नबनेका गौतम हाल कांग्रेसको महासमिति सदस्य छन्। हरिबोल भट्टराईलगायतले नेपाली कांग्रेस (बीपी) गठन गर्दा उनलाई अध्यक्षको प्रस्तावसमेत आयो। तर, उनले त्यसलाई अस्वीकार गरी नेपाली कांग्रेसमै रहेर संघर्ष गरिरहे। प्रजातान्त्रिक समाजवादप्रति अटल आस्थावान् गौतम योभन्दा बाहिरका विचारमा लाग्ने कुरा सोच्न पनि सक्दैनन्। प्रजातान्त्रिक समाजवादको व्यावहारिक प्रयोगले मात्र मुलुकको समृद्धि र मुलुकवासी सुखी हुने कुरामा उनको विश्वास छ।
देउवा कांग्रेसको सभापति बन्नु नै दुर्भाग्य
राम्रोको समर्थन तथा नराम्रोको कटु आलोचना गर्ने गौतमको चरित्र नै बनेको छ। नराम्रा र भ्रष्टताप्रति गौतम दुर्वासाका रूपमा प्रस्तुत हुन्छन्। त्यसै कारण पनि उनलाई कांग्रेसका शीर्ष नेताले समेत मन पराउँदैनन्। उनले न पार्टीका शीर्ष नेताको अगाडि गएर चुनाव लड्न टिकट मागे, न त कुनै पद। गौतम वर्तमान पार्टी सभापति शेरबहादुर देउवाभन्दा आफू सिनियर भएको दाबी गर्छन्। नेविसंघको स्थापनाकालदेखि नै गौतमसँग देउवाले मिलेर काम गरेको उनले आफ्नो संस्मरणबाट सुनाए। तर, गौतम देउवाको नीति र कार्यपद्धतिको कटु आलोचना गर्छन्। गौतम भन्छन्, ‘देउवा कांग्रेसको नेतृत्वमा आउनु नै दुर्भाग्य हो। फेरि १४औँ महाधिवेशनमा देउवा सभापति बन्नु हुँदैन। देउवा फेरि पनि सभापति बने भने कांग्रेसका लागि झन् दुर्भाग्य हुनेछ।’ मुलुक, पार्टी र प्रजातन्त्रको भविष्यका लागि देउवा अब नेपाली कांग्रेसको सभापतिमा आउन नहुुने गौतमले जोडदार रूपमा बताए।
२० वर्षको उमेरदेखि राजनीतिमा सक्रिय गौतम सबै नेताहरूसँग परिचित छन्। त्यस कारण उनी सबै नेताका गुण र दोष निर्धक्कसँग छुट्याउँछन्। आफ्नो कथनले को रिसाउँछ, को खुसाउँछ भन्नेसमेत उनलाई मतलव रहँदैन। गौतमको नजरमा कांग्रेस नेता शशांक डायनामिक छैनन्, शेखर कोइराला विश्वास गरिहाल्ने अवस्थामा पुगेका छैनन्, प्रकाशमान रिसाहा छन् भने रामचन्द्र पौडेल सङ्कीर्ण सोचका व्यक्ति हुन्।
कांग्रेसकाे नयाँ नेतृत्वका लागि चर्चा चलिरहँदा उनी अहिले सभापतिका निम्ति परिपक्व र सक्षम कसैलाई पनि देख्दैनन्। कुनै बेला कांग्रेसका चर्चित नेताको छवि बनाएका गौतम आफैँ सभापतिका लागि चुनाव लडौँ कि भन्ने पनि सोच्छन्। उनका समर्थकले त उनलाई सभापतिमा लड्न पनि सुझाव दिएको उनी बताउँछन्। तर, उनी भने चुनावमा देखिँदै आएको गलत प्रवृत्तिको आलोचना गर्दै भन्छन, ‘चुनाव विचारले होइन, अहिले पैसाले लड्नुपर्ने समय आएको छ। रक्सी र मासुको भोज लाउनुपर्छ। पैसा पनि त्यत्तिकै बाँड्नुपर्छ। त्यो गर्न म सक्दिनँ।’
१३औँ महाधिवेशनका क्रममा नेता तथा कार्यकर्ताले हातमा बियरका बोतल लिएर उम्मेदवारको प्रचार गरेको स्मरण उनमा अझै पनि ताजा छ।
अहिले पञ्चायतभन्दा संकटपूर्ण अवस्था
७४ वर्षको उमेरमा पनि राजनीतिमा सक्रिय गौतम देशको अवस्थाप्रति चिन्तित देखिन्छन्। देश अभिभावकविहीन भएको उनको ठम्याइ छ। हरेक राजनीतिक घटनाक्रमलाई गम्भीरतपूर्वक नियालिरहेका गौतम भन्छन्, ‘अहिले मुलुकमा पञ्चायतभन्दा संकटपूर्ण अवस्था छ।’
गौतम ३२ वर्षको हुँदा २०३४ सालमा बीपी कोइरालाले भनेका थिए, ‘कम्युनिष्ट राजाभन्दा घातक हुन्छन्। राजाले बोल्ने र संगठित हुने अधिकार मात्रै दिँदैनन्। तर, कम्युनिष्टले सबै अधिकारसँगै देशलाई नै बर्बाद पार्छन्। त्यसैले कम्युनिष्टलाई नियन्त्रण गर्न पनि लोकतान्त्रिक व्यवस्था र संवैधानिक राजतन्त्र चाहिन्छ।’ २०३४ सालमा बीपीले भनेको कुरा ४० वर्षपछि पनि उत्तिकै सान्दर्भिक रहेको उनी बताउँछन्। ‘अहिले दुईतिहाईको कम्युनिष्ट सरकार छ तर राष्ट्रियता खतरामा पर्दै गएको देखिन्छ। मुलुकको परराष्ट्र नीति के हो, प्रष्ट छैन। प्रजातान्त्रिक अधिकारहरूलाई संकुचित बनाउने दिशामा सरकारको कार्यशैली देखिन्छ। अब त झन् निरंकुश एक दलीय कम्युनिष्ट शासन शुरू हुने हो कि भन्ने आशंकासमेत बढेको छ,’ गौतमले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै भने।
सञ्जीवनीमार्फत असहाय बिरामीको सेवामा
वीर अस्पताललाई कार्यक्षेत्र बनाएर २०३७ सालमा स्थापना भएको सञ्जीवनी सेवा संघमा गौतम २०४८ देखि अध्यक्ष रहेका छन्। वीर अस्पतालमा देशभरिबाट उपचारका लागि बिरामी आउँछन्। ती बिरामीमध्ये कतिपय असहाय, गरिब र वारेस नभएका समेत हुन्छन्। त्यस्ता बिरामीलाई सेवा गर्नु, आर्थिक सहयोग गर्नु र बेखर्चीलाई आफ्नो घरसम्म पुग्ने रकमसमेत सहयोग गर्नु संघको दिनचर्या हो।
संघले प्रदान गरिरहेको सेवाबारे अध्यक्ष गौतम भन्छन्, ‘हामीले असहाय, गरिब बिरामीलाई सहयोग गर्दै आएका छौँ। रगत आवश्यक भएको बिरामीलाई कहीँबाट रगतको व्यवस्था गर्छौं, नभेटिएमा रगत किनेरै भए पनि बिरामीको ज्यान जोगाउँछौँ। औषधि किन्ने पैसा नहुने बिरामीलाई औषधि किन्नेदेखि उपचारपछि घर फर्किने पैसा नभएमा गाडी भाडासमेत दिएर घर पठाउने व्यवस्था गर्छौं।’ उनले थपे, ‘अस्पतालमा उपचार गराउँदा गराउँदै खान, बस्नका लागि पैसा नभएमा पनि हामी त्यो व्यवस्था गरिदिन्छौँ।’
छोराको हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनशनमा बसेका नन्दप्रसाद अधिकारीको २०७१ साल असोज ६ गते निधन भएको थियो। त्यसपछि उनकी श्रीमती गंगामाया अधिकारी अनशनमा बसिरहेकी छिन्। गंगामायाले झोल पदार्थ पानी, ग्लुकोज, हर्लिक्स र जीवनजल मात्रै खान्छिन्। त्यसको व्यवस्था पनि संघले गरिरहेको अध्यक्ष गौतमले बताए।
२०६३ सालमा विश्व हिन्दु महासंघको अध्यक्ष र २०६६ मा अन्तर धार्मिक परिषद् अध्यक्ष बनेका गौतमले विभिन्न देशमा धार्मिक प्रवचन तथा धर्मसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आएका छन्। सो क्रममा उनी बङ्गलादेश, भारत, जापान, मलेशिया, थाइल्याण्ड र कोरियासम्म पुगेका छन्।
‘अध्यात्म’ मा रमाइरहेका कांग्रेसका पुराना नेता गौतम भन्छन्, ‘असहाय बिरामीको उपचार र सेवा पुर्याउँदा असीम आनन्द आउँछ।’