धनगढी - धनगढीको सहिद गेटनजिकै रहेको मिलन होटलमा साउन २ गते भएको बम विस्फोटनका घाइतेहरूले उपचारमा समस्या भएको गुनासो गरेका छन्। धनगढीकै माया मेट्रो अस्पतालमा उपचार गराइरहेका उनीहरूले औषधि उपचारको व्यवस्था कतैबाट नहुँदा समस्यामा परेको बताएका हुन्।
धनगढीमा ट्रयाक्टर ग्यारेज सञ्चालन गर्दै आएका भारतीय नागरिक मोबिन खानलाई साउन १० गते नै अस्पतालले डिस्चार्ज गरे पनि औषधोपचारको रकम कसैले भुक्तानी नगरिदिँदा उनी अझैसम्म अस्पतालमै बसिरहेका छन्।
उनकी पत्नी सल्मा खातुनले हालसम्म अस्पतालमा १ लाख ५ हजारको रुपैयाँ बिल तिर्न बाँकी देखिएको जानकारी दिइन्। पैसा तिर्न बाँकी रहेकै कारण अस्पतालले घर जान नदिएको दुःखेसो सल्माले सुनाइन्।
साउन २ गते बेलुका पौने ७ बजे भएको सो विस्फोटनको जिम्मा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा समूहले लिएको थियो। सो समूहका सेती–महाकाली ब्यूरो इञ्चार्ज ‘निर्माण’ले एक विज्ञप्ति जारी गर्दै घटनामा घाइते भएकाहरूको औषधोपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए। तर, हालसम्म न सो समूहले उपचार खर्च उपलब्ध गराएको छ, न त सरकारले नै।
उक्त विस्फोटमा ५ जना घाइते भएका थिए। घटनामा परेर उक्त समूहका रामबहादुर सिंह (राजेश)को ज्यान गएको थियो। घाइतेमध्ये होटल सञ्चालक केशवराज पाण्डेको उपचार अन्यत्रै भइरहेको छ भने भारतीय नागरिक मोबिन खान, धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका जितेन्द्र यादव र कञ्चनपुरको बेलडाँडी गाउँपालिका– ५, झिलमिलाका लक्ष्मण सेरेलाको उपचार धनगढीमै भइरहेको छ।
घटनामा घाइते भएका बिप्लव कार्यकर्ता लक्ष्मण सेरेलाको प्रहरीको सुरक्षामा उपचार भइरहेको छ। प्रहरीले घाइते सेरेलालाई नेकपा समूहको कार्यकर्ता रहेको भन्दै अस्पतालमै सुुरक्षा सतर्कता बढाएको छ। चन्द कार्यकता भएको भन्दै केही दिन अघिसम्म परिवारजन तथा इष्टमित्रलाई भेट्नसमेत नदिएको प्रहरीले अहिले भने भेट्न आउनेहरूको पूरै विवरण लिएर मात्रै भेट्न दिइरहेको सेरेलाले बताए।
घटनामा घाइते भएका अण्डा तथा कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष जितेन्द्र यादवले औषधि उपचारमा कसैले सहयोग नगर्दा समस्या भएको बताए। साउन ३ गते पेटको अप्रेसन गरिएका उनको शरीरमा अझै दुईवटा फलामका किल्लाहरू देखिएकाले फेरि अप्रेसन गर्नुपर्ने अवस्था रहेको उनले बताए।
उपचार गरिरहेको माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले हालसम्म आफ्नै स्रोतसाधनबाट उपचारको व्यवस्था गर्दै आएको जनाए। बिरामीसँग १ पैसा मागेका छैनौँ। हालसम्म आधिकारिक रूपमा कसैले पनि उपचारको व्यवस्था गरिदिन्छौँ भनेका छैनन्। प्रमुख जिल्ला अधिकारीसँग कुरा भए पनि हालसम्म केही जवाफ नआएको उनले बताए।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिनेबारे अस्पताल प्रशासनसँग छलफल भएको र खर्चको व्यवस्था पनि सरकारबाटै हुने बताए। घटनाका सबै घाइतेहरू अनुसन्धानको दायरामा रहेकाले सामान्य घाइतेसरह उपचारपछि घर जान नपाएको प्रजिअ बोहराले स्पष्ट पारे। अनुसन्धान प्रक्रिया जारी रहुन्जेल घाइतेहरू सुरक्षा निगरानीमै रहने उनले प्रष्ट पारे।