काठमाडौँ – ‘नेपाल फिल्म अवार्ड - २०७६’ आयोजनाको घोषणा भएको छ। बलामी इन्टरटेनमेन्ट अन्तर्गतको नेफा मिडिया ग्रुपले विशेष अवार्डको मोडल तयार पारेको हो।
चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहकार्यमा रहने अवार्डमा मनोरञ्जन पत्रकारितामा सक्रिय चर्चित २१ पत्रकारसमेत जोडिएका छन्। करिब २ करोड लागतमा आयोजना हुन लागेको अवार्ड १० हजार बढी दर्शकको उपस्थितिमा बाँडिने आयोजक बलामी इन्टरटेनमेन्टका प्रमुख समिर बलामीले जानकारी दिए।
पपुलरतर्फ ५ र निर्णायकतर्फ १४ विधा गरेर कुल १९ बिधामा वितरण गरिने अवार्डमा नेपाली फिल्म प्रति समर्पित एक व्यक्तिलाई १ तोला सुन र १ लाख ११ हजार १ सय ११ नगद सहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिनेछ।
अवार्डको जुरीमा निर्माता निर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक कलाकार अनुप बराल रहेका छन्।
३५ तोलादेखि ५० तोलासम्मको चाँदीको ट्रफी बन्ने अवार्डको आवेदन समेत खुल्ला भएको छ। पहिलो पटक फरक शैलीमा हुन लागेको यो अवार्ड निष्पक्ष हुनेमा धरणा कार्यक्रममा कलाकर्मीले राखेका छन्।