धनगढी - राहत वितरणमा अनियमितता भएको भन्दै आन्दोलनमा उत्रेका धनगढी–१२ का हावाहुरीपीडितमाथि बुधबार आक्रमण भएपछि पीडितहरू झन् आक्रोशित बनेका छन्। सबै पीडितले राहत पाउनुपर्ने माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रेका पीडितहरूमाथि आक्रमण भएपछि राहतसहित कुटपिटको समेत क्षतिपूर्ति पाउनुपर्ने माग राखेर पीडितहरूले आन्दोलन जारी राखेका छन्।
वडाबाट हावाहुरीपीडितको तथ्याङ्क संकलनमै त्रुटि हुनुका साथै वडा सदस्यहरूले समेत अनियमितता गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन्। वडा सदस्यद्वय बिर्ख सिंह र गीता सुनारले आफ्नै परिवारका सदस्यहरूका नाममा राहत बुझेपछि राहत नपाएका पीडितहरू आन्दोलनमा उत्रेका हुन्। सदस्य सिंहले आफ्नै परिवारका दुई जनाको र गीता सुनारले ६ जनाको राहत बुझेका छन्।
वडा अध्यक्ष तथा सदस्यहरूले पहुँचका भरमा पक्की घर भएकाहरूलाई समेत राहतका लागि सिफारिश गरेको भन्दै पीडितहरू आन्दोलनमा उत्रेका छन्। पीडितभन्दा पनि पहुँचका भरमा राहत वितरण भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको पीडित जयकला रोकायाले बताइन्। सोही माग राखी शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला केही युवाहरूले एक्कासि आक्रमण गर्दा आन्दोलनमा सहभागी महिलाहरू घाइते भएको जयकलाले बताइन्।
पीडित कृष्णा सिंहले स्थानीय तहबाट पीडित भन्दा पनि पहुँचका आधारमा राहत वितरण भएपछि सबै पीडितलाई राहत उपलब्ध गराउन माग राख्दा उल्टै आक्रमण भएको दुखेसो गरिन्। वडा अध्यक्ष गणेश जोशीका छोरा नवराज जोशीको योजनामा सो आक्रमण भएको उनको आरोप छ। शान्तिपूर्ण आन्दोलनमा नेतृत्व पक्षबाटै आक्रमण हुनु दुःखद भएको बताउँदै उनले आफूहरूसँग भएका मोबाइल, पर्स तथा सुनका गरगहनासमेत लुटिएकाले ती सामग्रीको समेत क्षतिपूर्ति हुनुपर्ने माग राखिन्।
आन्दोलनको नेतृत्व गरिरहेका हावाहुरीपीडित संघर्ष समितिका संयोजक श्याम कुँवरले जनप्रतिनिधिबाटै भएको गल्तीलाई सच्याएर पीडितलाई राहत उपलब्ध गराउन माग राखिरहेका बेला आक्रमण हुनु तानाशाही प्रवृत्ति भएको बताए। कुनै भागबण्डा नमागी सरकारबाट उपलब्ध हुने राहत पीडितले पाउनुपर्छ भनेर माग राख्ने महिलाहरूमाथि उल्टै आक्रमण हुनु अत्यन्त निन्दनीय रहेको उनको भनाइ छ। आन्दोलन सहभागीमाथि आक्रमण गर्ने वडा अध्यक्षका छोरा नवराज जोशीसहित १२ जना विरुद्ध जाहेरीसमेत दिइसकेको उनले जानकारी दिए।
वडा अध्यक्ष जोशी भने वडा अध्यक्षकै निर्देशनमा आक्रमण भएको भन्दै गलत प्रचार गरिएको बताउँछन्। आफूले वडाबाट सबै पीडितहरूको तथ्याङ्क संकलन गरेर उपमहानगरमा पठाए पनि राहत पाउनेमा सबैको नाम नआएको उनले बताए। तर, सो राहतका विषयमा छलफल गरिरहे पनि आन्दोलनरत स्थानीयमाथि कसले आक्रमण ग¥यो भन्ने विषयमा समेत जानकारी नभएको उनी बताउँछन्। उनले आफूले सबै जनताको पक्षमा काम गरिरहेको र शान्तिपूर्ण ढंगले काम गरिरहे पनि व्यक्तिगत दुस्मनीले गर्दा गलत प्रचार भइरहेको भन्दै आपत्ति जनाए।
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले शुरूमा प्रदेश र स्थानीय सरकारले पूरै छानो भत्केकालाई पूर्ण र आधा भत्केकालाई आंशिक भनेर तथ्याङ्क संकलन गरिए पनि एकद्वार प्रणालीबाट राहत वितरण हुँदा फरक भएको बताए। जिल्ला बिपद व्यवस्थापनबाट राहत उपलब्ध हुँदा पूर्ण घर भत्केकालाई पूर्ण र पूर्ण छाना भत्केकोलाई आंशिक क्षति बनाएर राहत उपलब्ध हुँदा यो समस्या आएको बताए। गृह मन्त्रालयकै सो नियम हुँदा सामान्य क्षति भएकाहरूले राहत पाउने अवस्था नरहेको बताए। मेयर वडले राहत पाउनैपर्ने व्यक्ति छुटेको भए उपमहानगरले राहत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे। उनले आन्दोलनमा भएको आक्रमण बारे पनि छानबिन गरी आवश्यक कारबाहीअगाडि बढाइने उनले बताए।
धनगढी उपमहानगरमा मात्रै २ हजार ५ सय ४७ घर पूर्ण क्षति भएको तथ्याङ्कमा उल्लेख छ। शुरूमा प्रदेश सरकार र उप महानगरले आआफ्नै तरिकाले राहत उपलब्ध गराउने घोषणा गरे पनि जिल्ला बिपद व्यवस्थापन समितिमार्फत एकद्वार प्रणालीबाट राहत उपलब्ध गराइने भएपछि प्रदेश तथा स्थानीय तहले घोषणा गरेको राहत पीडितले नपाएका हुन्। हाल पूर्ण क्षतिलाई १० हजार र आंशिकलाई ५ हजार उपलब्ध भइरहेको छ।