काठमाडौँ – रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ प्रसारणमा आउने भएको छ। ‘सो’ साउन ३१ गतेबाट हिमालय टीभी एचडीबाट प्रसारण हुनेछ। टेलिभिजनले हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ।
नेपालमा ८ बजेको सुपर प्राइम टाइममा यो रियालिटी सो प्रसारण हुने छ। करिव २२ हजार आवेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन्। सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमाउने प्रतिभाको भाग्य पनि घुम्ने छ र उनीहरुको सांगीतिक यात्रा शुरु हुने छ।
‘निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुग्नुभएको छ’ कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले भने– ‘सबै एक से एक हुनुहुन्छ, प्रतिस्पर्धा निकै कडा छ।’ पौडेलका अनुसार अघिल्लो वर्षका तुलनामा निकै ठूलो संख्यामा आकांक्षीहरु डिजिटल अडिसनमा सहभागी भएको हुँदा राम्रा प्रतिभाहरुको छनौटमा सहजता भएको छ।’
यस पटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन्। राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन्।