बनेपा - पनौती नगरपालिका–५ धनेश्वरस्थित श्री धनेश्वर महादेव प्राथमिक विद्यालय सञ्चालन गर्न स्रोत नभएको भन्दै स्रोत जुटाउनका लागि महायज्ञ गरिने भएको छ।
विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी आगामी २० देखि २८ गतेसम्म विद्यालयको प्राङ्गणमा ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।
विसं २०३८ मा स्थापना भएको सो विद्यालय २०७२ को भूकम्पपछि करिब बन्दजस्तै अवस्थामा पुगेको थियो। चार शिक्षककाे दरबन्दी रहेको सो विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि विसं २०७४ साउनबाट पूर्णरूपमा बन्द नै भएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कुमार थापाले बताए।
विद्यालय सञ्चालनमा ल्याएपछि आर्थिक स्रोत भरपर्दो नभएका कारण महायज्ञ सञ्चालन गर्न लागिएको उनले बताए। विद्यालय सञ्चालनमा ल्याउन गरेको पहललाई नगरपालिकाले पुनः स्वीकृत दिनुका साथै एक जना शिक्षक दरबन्दीको व्यवस्था गरेपछि अहिले पुनः कक्षा २ सम्म सञ्चालन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापाले बताए।
“विद्यालयमा पूर्णरूपमा अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको छ,” थापाले भने, “एक दरबन्दी र तीन निजी स्रोतमा गरी सञ्चालन भइरहेको विद्यालयमा एसओएस बालग्रामको पाठ्यपुस्तक प्रयोग गरी कक्षा नर्सरीदेखि २ कक्षासम्म पठनपाठन भइरहेको छ।
सो विद्यालयमा अहिले ४३ विद्यार्थी अध्ययन गरिरहेका छन्। स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञमा कथा ब्यास राष्ट्रिय विभूषित नारीविदूषी सुश्री अनुराधा शास्त्रीजी र देशव्यापी १०८ श्रीमद्भागवत सत्सङ्कल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्माले कथावाचन गर्नुहुने यज्ञ मूल समारोह समितिले जनाएको छ। (रासस)