सिद्धराज भट्ट, धनगढी - कैलालीको डल्फिन चरन क्षेत्रमा डुङ्गामा बोटिङ (जलयात्रा)सहित डल्फिनले गर्ने गतिविधिको दृश्यावलोकन गरेर पर्यटक रमाउन थालेका छन्।
जिल्लाको दक्षिणपूर्वी क्षेत्रका काँडा, कन्द्रा, पथरैया र मोहना नदीको दोभान क्षेत्रमा यतिबेला सहज रूपमा डल्फिन उफ्रिएको दृश्य त्यहाँ पुग्ने जो कोहीले सजिलै देख्न सकिन्छ। दोभान नजिक रहेको ढुङ्गाना गाउँका केही युवा विद्यालयको वर्षे बिदाको मौकामा डल्फिन अवलोकन गर्न आउने पर्यटकलाई ‘गाइड’ गर्न स्थानीय प्रकाश ढुङ्गाना र गोकुल भण्डारीलगायतका युवा सक्रिय हुँदै आएका छन्।
“डल्फिन हेर्न आउनेलाई घुमाउँछौँ,” युवा गोकुल भण्डारीले भने, “घुमाइदिएबापत कतिपय पर्यटकले सक्दो नगद दिएर जान्छन्।” डल्फिनले नदीमा गर्ने गतिविधिका बारेमा यी युवा जानकार छन्। मानिसपछिको दोस्रो बुद्धिमान र स्तनधारी प्राणी डल्फिन हो र यसको संरक्षण गर्नुपर्छ भन्ने चेतना यी युवामा देखिन्छ। पर्यटकलाई यी युवाले डल्फिन संरक्षणका लागि भइरहेका गतिविधिबारेमा जानकारीसमेत दिने गर्छन्।
डल्फिन हेर्न आउने पर्यटकको चहलपहल बढेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा कैलाली जिल्लाले डल्फिन चरन क्षेत्रका रूपमा पहिचान बनाउन सफल भएको संरक्षणकर्मीको भनाइ छ। वर्षायाममा नदीमा पानीको सतह बढेसँगै भारतको घाँघरा नदीबाट डल्फिन बच्चा जन्माउन कैलालीका नदीमा आउने र पानीको सतह घटेपछि पुनः घाँघरा नदीमै फर्किने गरेको बताइएको छ।
यहाँका नदीमा जन्मिएका बच्चा फर्किंदा बयस्क भएर जाने गरेको संरक्षण केन्द्रका उपाध्यक्ष भोजराज ढुङ्गानाले बताए। उनले भने, “यस वर्ष नदीका फरकफरक ठाउँमा एउटै समयमा १३ बच्चा आमासँग खेलिरहेको देख्न सकिन्छ।” हालै इटाली, बेलायत र भारतका पर्यटक डल्फिन अवलोकन गरी फर्किएका छन्। हाल दैनिक बढीमा १५ पर्यटक डल्फिनको गतिविधि हेरेर फर्किने गरेका छन्। अवलोकनका लागि डल्फिन संरक्षण केन्द्रले नदीको दोभान रहेको ठाउँ ढुङ्गाना टोलमा केही वर्षअघि नै टावर निर्माण गरेको थियोे।
प्रदेशसभा सदस्य डा. रणबहादुर रावल र वीरमान चौधरीको पहलमा हालै मोहना र पथरैया नदीको दोभानमा एउटा तथा मोहना र राप्ती खोलाको दोभानमा अर्को टावरसमेत निर्माण गरिएको छ। विश्वमै सबैभन्दा नजिकबाट सहज रूपले डल्फिन अवलोकन गर्न सकिने ठाउँ कैलालीका नदी रहेको डल्फिन संरक्षण केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठको भनाइ छ। कैलालीको पूर्व क्षेत्रको टीकापुर बजार र पश्चिमतर्फको भजनी हुँदै डल्फिन चरन क्षेत्रमा पुग्न सकिए पनि त्यहाँ सडक लगायतका पूर्वाधारको भने अभाव रहेको छ।
गाउँमा ‘गुलेली बाजे’का नामले चिनिने भोजराज श्रेष्ठले नै सर्वप्रथम कैलालीको मोहना, कान्द्रा, काँडा र पथरैया नदीको दोभानमा दुर्लभ जलचर डल्फिन वर्षायाममा देखिने गरेको सार्वजनिक गरेका थिए। सो कुरा सार्वजनिक भएसँगै डल्फिनको संरक्षण प्रवर्द्धन एवं प्रचारप्रसार को काम शुरु गरिएको हो। डल्फिन संरक्षण केन्द्रका अध्यक्षसमेत रहेका ८५ वर्षीय श्रेष्ठ अहिले पनि तन्नेरीलेझैँ संरक्षण अभियानमा लागिरहेका छन्।
डल्फिन संरक्षित क्षेत्र घोषित गरी यो ठाउँमा आवश्यक थप पूर्वाधार जुटाउन सकिएमा डल्फिन अवलोकनका लागि देशकै प्रमुख गन्तव्यस्थल हुनसक्ने अर्का संरक्षणप्रेमी विजयराज श्रेष्ठले बताए। सो क्षेत्रमा गठन भएको डल्फिन संरक्षण केन्द्रअन्तर्गत डल्फिन संरक्षण उपकेन्द्र, डल्फिन क्लब र इको क्लबले संरक्षणसम्बन्धी गतिविधि गर्दै आएका छन्।
मोहना, पथरैया र कान्द्रा नदीको दोभानमा डल्फिन अवलोकनमा आउने पर्यटकका लागि शौचालय, आराम घर तथा सूचना केन्द्र नहुँदा पर्यटकले सास्ती भोग्नु परिरहेको स्थानीयवासी भोजराज ढुङ्गानाले बताए। “डल्फिन हेर्दै जाँदा थकान पनि महसुस हुन्छ। थकित पर्यटकलाई आराम गर्न स–साना घर बनाइदिएको भए राम्रो हुन्थ्यो,” डल्फिन अवलोकनका लागि आएका दयाराम चौधरीले भने।
डल्फिन संरक्षण र पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले नीति तथा कार्ययोजना बनाएर अघि बढ्नुपर्ने सुझाव चौधरीको छ। करिब ३० वर्षपहिले यो स्तनधारी जन्तु नेपालका कोसी, गण्डकी र महाकालीमा देखिए पनि हाल कर्णालीको चिसापानीदेखि कोठियासम्म र वर्षायाममा कैलालीको मोहना, कान्द्रा, पथरैया र काढा नदीमा पनि देख्न पाइन्छ।
डल्फिन देखिने नदी किनारमा व्यक्तिका जग्गाजमिन छन्। त्यसलाई व्यवस्थित गर्नुपर्ने र नदीको सतह सरसफाइमा ध्यान दिनुपर्ने देखिएको छ। स्थानीयस्तरमै यसको संरक्षण र प्रचारप्रसार भएपछि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। (रासस)