धनगढी - धनगढीमा भएको बम विस्फोटमा परी घाइते भएका कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेलालाई प्रहरीले पक्राउ गरेको छ। गत साउन २ गते भएको धनगढी विस्फोटमा परी घाइते भएका सेरेलालाई उपचारपछि आज माया मेट्रो अस्पतालले डिस्चार्ज गरेकोमा अस्पतालबाटै प्रहरीले पक्राउ गरेको हो। प्रहरीको निगरानीमै उनको उपचार भइरहेको थियो।
सेरेला प्रतिबन्दित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन्। उनलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले घटनाको थप जानकारी लिन अब सहयोग पुग्ने बताए।
धनगढी उपमहानगरपालिका–४ को शहिद गेटनजिकै रहेको निलम होटलमा बम विस्फोट हुँदा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१४ का रामबहादुर सिंहको मृत्यु भएको थियो भने अन्य चार जना घाइते भएका थिए।
यसअघि बम विस्फोटमा परी घाइते भएका भारतीय नागरिक मोविन खानलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ। उक्त विस्फोटनमा धनगढी उपमहानगरपालिका– ४ का स्थानीय एवं अण्डा तथा कुखुरा व्यवसायी संघ कैलाली अध्यक्ष जितेन्द्र यादव र होटल सञ्चालक केशवराज पाण्डे पनि घाइते भएका थिए।
मृतक सिंहले टिफिन बक्समा फिट गरेको बम झोलामा राखेर पिठ्यँमा बोक्दै घाइते सेरलासँग होटलमा आएको र भित्तामा ठोक्किएपछि बम विस्फोटन भएको प्रहरीले जनाउँदै आएको छ।