काठमाडौँ – फिल्म प्रदर्शनमा आउनुअघि केही न केही कुराको चर्चा हुने गर्दछ। त्यस्तै, भारतीय फिल्म ‘साहो’ प्रदर्शन मिति नजिकिदै गर्दा यसको बारेमा नयाँ चर्चा शुरु भएको छ। साहोको गीत सार्वजनिकसँगै सामाजिक सञ्जालमा चर्चा पाएको थियो। अहिले भने फिल्म ‘साहो’ को अभिनेता प्रभास र अभिनेत्री श्रद्धा कपुरको पारिश्रमिकबारे सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार दुबै अभिनेता प्रभास र अभिनेत्री श्रद्धाले राम्रो पारिश्रमिक प्राप्त गरेका छन्। यस फिल्ममा प्रभासले एक सय करोड रुपैयाँ पारिश्रमिक पाउने खबर बाहिरिएको छ।
प्रभास दक्षिण भारतीय फिल्मी क्षेत्रको सबैभन्दा महंगो अभिनेता पनि हुन् त्यसैले यसमा एक सय करोड लिएको बताएका छन्। प्रभासले शाहरुख खान, सलमान खान, रजनीकान्तजस्तो अभिनेताहरुलाई पछि पारेका छन्।
त्यस्तै अभिनेत्री श्रद्धाको कुरा गर्दा उनले यस फिल्मको लागि सात करोड पाएको बताइएको छ। उनी पनि भारतीय फिल्म क्षेत्रको धेरै पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन्। श्रद्धाले यस फिल्मबाट पहिलो पटक दक्षिण भारतीय फिल्ममा डेब्यू गरेकी हुन्।
यस फिल्मको टिजर सार्वजनिक भइसकेको छ तर फिल्मको ट्रेलर भने सार्वजनिक हुन बाँकी नै छ। यस फिल्मको दुई वटा गीत सार्वजनिक भइसकेको छ। सुजितले निर्देशन गरेको फिल्म हिन्दी, तमिल, तेलगु र मलयालम भाषामा रिलिज गरिने छ। यो फिल्म यही अगस्ट ३० अर्थात भदौदेखि १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। (एजेन्सी)