हरि बाँस्तोला, पोखरा - ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको यहाँको एक प्राकृतिक पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ।
पोखरा उपत्यकाको समग्र इतिहाससँग जोडिएको सेतीनदीमाथि अवस्थित पोखरा महानगरपालिका वडा नं. १७ र १५ जोड्ने ढुङ्गा र माटोबाट बनेको हजारौँ वर्ष पुरानो प्राकृतिक पुललाई गण्डकी प्रदेश सरकारले नयाँ गन्तव्यका रूपमा विकास गर्ने भएको हो।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सो प्राकृतिक पुलको निरीक्षण गर्दै आश्चर्यलाग्दो प्राकृतिक पुलको संरक्षण, संवर्द्धन एवं प्रचारप्रसारका माध्यमबाट उजागर गर्ने बताए। प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षका रूपमा मनाइरहेको उल्लेख गर्दै उनले प्राकृतिक पुलजस्ता प्राकृतिक उपहारको भरपुर उपयोग गरी पर्यटकको बसाइँ लम्ब्याउनुका साथै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
गण्डकी प्रदेशका प्रत्येक जिल्लामा चारवटा नयाँ गन्तव्यको पहिचान गरी आवश्यक भौतिक संरचना निर्माणमा जोड दिँदै आएको बताउँदै मन्त्री लम्सालले यस्ता अभियानमा स्थानीय बासिन्दाको महत्त्वपूर्ण भूमिका रहने बताए। सुगम स्थानमा रहेर पनि पर्यटकीय गन्तव्यका रूपमा विकास हुन नसकेको प्राकृतिक पुल ढुङ्गेसाँघुलाई प्रदेशको नयाँ गन्तव्यमा समावेश गर्न पहल गर्ने बताउँदै उनले प्राकृतिक पुललाई पर्यटकीय नक्सामा समावेश गरिने जानकारी दिए।
स्थानीयको सक्रियताका आधारमा प्राकृतिक पुलको संरक्षणसँगै आवश्यक भौतिक संरचना निर्माण भइरहेको ढुङ्गेसाँघु पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष नगेन्द्र गिरीले बताए। उनका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीको पहलमा प्राप्त रु. ५० लाखको लागतमा दृश्यावलोकन प्वाइन्ट, झोलुङ्गे पुलसहित टिकट घर, प्रवेशद्वार, मन्दिर संरक्षण, तारबार, सुरक्षा घर र शौचालय लगायतका आवश्यक संरचना निर्माण गरिएको छ।
प्रकृतिले दिएको वरदानलाई उपयोग गरी स्थानीय आयआर्जनको स्रोत बताउँदै यस क्षेत्रको शिक्षा, स्वास्थ्य लगायत विभिन्न विकास निर्माणमा उपयोग गरिने योजना छ। सो स्थानमा परापूर्वकालदेखि माघेसङ्क्रान्तिका दिन ढुङ्गेसाँघु मेला लाग्दै आएको छ। झोलुङ्गेपुल निर्माण समितिका संयोजक प्रेम थापाका अनुसार पुल निर्माणले प्राकृतिक पुलको दृश्यावलोकनमा आन्तरिक एवं बाह्य पर्यटकका लागि सुविधा पुग्नुका साथै हाल दैनिक ५ सय जनाभन्दा बढीले अवलोकन गर्ने गरेका छन्।
प्राकृतिक पुलको दायाँबायाँ कालोपत्र गरेर सडक निर्माण गरिए पनि जुन पुलको माथिल्लो भागमा ढुङ्गा छापेर मौलिकतालाई जीवित राखिएको छ। समुद्री सतहबाट करिब १ हजार मिटरको उचाइमा पोखराको दक्षिणी भेगमा अवस्थित लगभग ३ सय फिट गहिराइ रहेको नदीमाथि ९० फिट लम्बाइ र २० फिट चौडाइमा पिरामिड आकारमा उक्त प्राकृतिक पुल रहेको छ।
सेतीनदीको दायाँबायाँ भागको दुवै किनाराबाट जमिन धाँजा फाँटेर एकैतर्फ ढलेका ठूल्ठूला चट्टान एकापसमा जोडिएको र पिँधमा सेतीनदीको चिसो पानीले रेटेर निकास बनाएपछि माथिल्लो भागले पुलको आकार लिएको हुनसक्ने भूगोलविद् प्राडा कृष्ण केसीले बताए। माछापुच्छ्रे र अन्नपूर्ण हिमाल आसपास रहेका हिम ताल फुट्दा सेतीनदीमा आएको बाढीले बगाएर ल्याएको ढुङ्गा, बालुवा, माटो, लेदोसहितको वनजङ्गलका अवशेषका कारण पोखरा उपत्यकाको उत्पत्ति भएको र सोही अवधिमा सो पुल बनेको अनुमान गर्न सकिन्छ। (रासस)