काठमाडौँ – साउन ३२ गते ‘काठमाडौँ लाइभ’ कार्यक्रम आयोजना हुने भएको छ। युवाको उत्प्रेरणाका लागि लिभिङ विथ् इन्भाइरोमेन्ट र रियल इभेन्टको आयोजनामा ‘काठमाडौँ लाइभ’ कार्यक्रम हुन लागेको हो।
कार्यक्रम साउन ३१ (अगष्ट १७) मा ललितपुरको जावलाखेलमा रहेको डीएभी कलेजको बुद्धहलमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। लिभिङ विथ् इन्भाइरोमेन्टका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रुपक पटेलले युवाहरूलाई उत्प्रेरणा प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए।
‘नेपालमा ९ लाखको हाराहारीमा मानिसहरू डिप्रेसनको शिकार भइरहेका छन्। हजारौँ युवाहरू लागूऔषधको कुलतमा फसेका छन्। आत्महत्या गर्न बाध्य छन्,’ कार्यक्रम संयोजक पटेलले भने, ‘यस्तै समस्यामा रहेका युवालगायत अन्यलाई ति समस्याको समाधान कसरी गर्ने भन्ने कुरामा हाम्रो कार्यक्रम केन्द्रित हुनेछ। यसले युवाहरूमा केही गर्नुपर्छ भन्ने उत्प्र्रेरणा जाग्नेछ।’
कार्यक्रमको अतिथिमा ‘मिस नेपाल २०१७’ निकिता चण्डक, युवा राजनीतिज्ञ तथा अभियान्ता रञ्जु दर्शना, सानो पाइलाकी सीईओ कञ्चन झा, नार्कोन नेपालका सीईओ बसन्त कुँवर, मनोरोग विशेषज्ञ डा.रचना शर्मा, सञ्चारकर्मी रवि लामिछानेलगायतले मोटिभेसनल स्पिच दिनेछन्।
योसँगै नृत्य, गायन प्रस्तुतीका साथै कार्टुन क्रियूको प्रस्तुती र स्ट्याण्ड अफ कमिडी पनि प्रस्तुत गरिने कार्यक्रम संयोजक पटेलले जानकारी दिए।