नवलपरासी - धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम आजभोलि सबैको रोजाइ बन्दै गएको छ। उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्किवासबाट करिब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित यस धाम पछिल्लोपटक आन्तरिक र बाह्य पर्यटकको रोजाइ बन्न थालेको हो ।
उत्तरबाट बगेर आएको नारायणी र पूर्वतर्फबाट आएको पन्चा तथा तमसा (शोणभद्रा)नदीको सङ्गमस्थल त्रिवेणीधाम प्राकृतिक रूपमा मनोरम देखिन्छ। भारतीय सीमासँग जोडिएको यो धामको उत्तर, पूर्व र दक्षिणतर्फ हरियाली पहाड छ। दुई ठूला पहाडको बीचमा उत्तरबाट बगेर आएको नारायणी नदीको पानीले सबैको मन लोभ्याउँछ।
सुन्दर बगैँचा, घना जङ्गल, बगेको नारायणी नदी र नदीपारि रहेको चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्यले यहाँ आउने हरेक पर्यटक लोभिन्छन्। दरौदी, मादी, मर्स्याङ्दी, सेती, काली, त्रिशूली र बुढीगण्डकीसमेत सातवटा नदी मिलेर बनेको नारायणी नदीमा पञ्चा र तमसा नामका दुई साना नदी मिलेकाले त्रिवेणी बनेको हो।
धार्मिक दृष्टिकोणले भारतको प्रयाग र नेपालको त्रिवेणी धाम श्रद्धा र आस्थाको केन्द्र मानिन्छ। ३ नदीको सङ्गम त्रिवेणीमा स्नान गर्नाले पुण्य मिल्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ। धार्मिक र ऐतिहासिक महत्त्वको यस क्षेत्रमा आवश्यकताअनुसार पूर्वाधार निर्माण भए एक महत्त्वपूर्ण पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने स्थानीयवासी बद्री निगम बताउँछन्।
त्रिवेणीधाममा गजेन्द्र मोक्ष दिव्य धाम, ऐतिहासिक मठमन्दिर छन्। किम्बदन्तीअनुसार गजेन्द्र मोक्ष दिव्य धाम रहेको नारायणी नदीमा प्राचीनकालमा हात्तीका राजा गजेन्द्र र गोहीबीच युद्ध हुँदा गजेन्द्रले विष्णु भगवानलाई पुकार गरेकाले भगवान् प्रकट भई चक्र प्रहार गरेर गोहीको घाँटी छेदन गरेका थिए।
सो घटनामा हात्तीले मोक्ष प्राप्त गरेकाले यस क्षेत्र गजेन्द्र मोक्ष दिव्यधामका नामले प्रसिद्ध भएको हो। उक्त धामको धार्मिक एवं ऐतिहासिक महत्त्वबारे अवलोकन तथा पूजापाठका लागि भारतका विभिन्न स्थानबाट ७० प्रतिशतभन्दा बढी धार्मिक पर्यटकको आवागमन हुने गरेको गजेन्द्र मोक्ष दिव्यधामका स्वामी कृष्ण प्रपन्नाचार्य बताउँछन्।
करिब १३ बिघा क्षेत्रफलमा फैलिएको यस धाममा अहिले अनेक आधुनिक संरचना बन्नाका साथै अर्को शिशामहलले पनि पर्यटकलाई लोभ्याउने गरेको छ। उक्त धाममा भारतका विभिन्न तीर्थस्थलबाट ल्याइएका शान्ति सर्वसिद्धि कलशको जल पनि आकर्षणका रूपमा रहेको छ। यस कलशलाई १०८ पटक परिक्रमा गरेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
त्रिवेणी धामलाई मुलुकै राम्रो पर्यटकीयस्थलका रूपमा विकास गर्न निजीक्षेत्र तयार रहेकाले सरकारले पनि सहयोगका हात फैलाउनुपर्ने उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी बताउँछन्। यस क्षेत्रको विकास निर्माणका लागि मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यको पहलमा विभिन्न व्यक्ति र सङ्घसंस्थाले सहयोग जुटाएर संरक्षण र प्रवर्द्धन गर्दै आए पनि विकासले पूर्ण रूप लिन नसकेकाले राज्यले पनि सहयोग बढाउनुृपर्ने स्वामी कमलनयनाचार्य बताउँछन्। (रासस)