काठमाडौँ, ६ माघ– नेपाली चलचित्र ‘गोपी’ सामाजिक कथावस्तुमा बनेको छ। चलचित्रको प्रदर्शन मिति यही माघ १८ गते तय गरिएको छ। यस वर्षकै अपेक्षित रहेको यो चलचित्रमा देखेभोगेकै कथावस्तु उतारिएको चलचित्रका नायक विपीन कार्की बताउँछन्।
चलचित्र ‘गोपी’ले विदेशी मोह त्यागेर स्वदेशमै निजी गाईपालन गरेका एक युवाको सङ्घर्ष र सफलताको कथालाई उजागर गरेको छ। चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्।
हालै रिलिज भएको चलचित्र ‘प्रसाद’मा निःसन्तान श्रीमानकाे भूमिका निर्वाह गरेका नायक कार्की यस चलचित्रमा गाईपालक किसानको भूमिकामा छन्। आफ्नो अभिनयबाट पात्रलाई न्याय दिलाउनुपर्छ भन्ने सोच राखेर चलचित्रमा प्रवेश गरेका उनी ‘गोपी’लाई पृथक् चलचित्र भन्न रुचाउँछन्।
चलचित्र प्रचारप्रसारका लागि चितवन पुगेका कार्की भन्छन्, ‘मैले चलचित्रमा पहिलो पटक फरक भूमिका निर्वाह गरेको छु, यसअघिका चलचित्रमा भन्दा फरक भूमिकामा तपाईंहरूले मलाई देख्न पाउनुहुनेछ।’ उनले पत्रकारसँग कुरा गर्दै भने, ‘देखेभोगेको कथावस्तु भए पनि चलचित्रमा यो कुरा आएको छैन, यसकारण पनि दर्शकलाई ‘गोपी’ मन पर्नेमा म विश्वस्त छु।’
चलचित्रमा नायक कार्कीको प्रेमिकाका रूपमा दुई नायिका वर्षा राउत र सुरक्षा पन्तलाई देख्न सकिन्छ। विवाह बन्धनमा बाँधिने मिति फागुन २ गते नजिकिँदै गरे पनि चलचित्र प्रचारप्रसारका लागि चितवन पुगेकी वर्षाले आफ्नो भूमिकाबारे जानकारी दिएकी छन्। उनी एक भेटेरिनरी डाक्टरको चरित्रमा रहेको र पशुचिकित्सकको चरित्र निर्वाह गर्न निकै गाह्रो भएको उनले बताइन्।
त्यस्तै चलचित्रका लेखक सामीप्यराज तिमल्सिनाले नेपाली युवामा विदेश जाने लहर चलिरहेको बेला चलचित्र ‘गोपी’ले स्वदेशमै केही गर्ने सन्देश दिने बताए।
आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको यस चलचित्र १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको छ। चलचित्रमा विपीन, सुरक्षा, वर्षाका साथै भोला सापकोटा, अङ्कित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमली लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रलाई शैलेन्द्र डी. कार्कीले खिचेका हुन्।