काठमाडौँ - नेपाल र थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु भएको छ।
गुणस्तरीय शिक्षाका निम्ति दक्षिणपूर्वी एशियामा ख्याति कमाएका थाइल्यान्डका आठवटा विश्वविद्यालयले भाग लिएको एकदिवसीय शैक्षिक मेलाको परराष्ट्रसचिव शङ्करदास वैरागी र नेपालका लागि थाइल्यान्डका राजदूत भाकभत तान्सकुलले संयुक्त रूपमा उद्घाटन गरे।
त्यस अवसरमा सचिव वैरागीले नेपाल र थाइल्यान्डबीचको कूटनीतिक सम्बन्ध ६ दशक पुरानो भए पनि बौद्ध शिक्षाका माध्यमबाट दुई देशका नागरिक सयौँ वर्ष अघिदेखि एकापसमा अति निकट रहेकाे बताए। उच्च शिक्षा हासिल गर्न थाइल्यान्ड गएका केही नेपाली विद्यार्थी त्यहाँ ठगिएको हालैको एउटा घटनातर्फ लक्ष्यित गर्दै उनले सही सूचनाको अभाव एवं शैक्षिक प्रतिष्ठानको आधिकारिकता र गुणस्तरको गहन विश्लेषणविना विद्यार्थी भर्ना हुँदा त्यस्तो समस्या उत्पन्न भएको आशङ्का गरे।
राजदूत तान्सकुलले थाइल्यान्ड र नेपालबीचको सम्बन्धलाई धर्म, संस्कृतिका साथै आर्थिक एवं पर्यटकीय विषयले मजबुत बनाएको चर्चा गर्दै दुई देशका जनतालाई नजिक ल्याउने अर्को माध्यम शिक्षा भएकाे बताए। उनले थाइल्यान्डमा खाना, आवास र यातायातजस्ता आधारभूत आवश्यकता अधिक महँगाे नभएकाले उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि आफ्नो देश आकर्षक गन्तव्य बन्नसक्ने बताए।
मेलामा सहभागी विश्वविद्यालयका प्रतिनिधिले केही नेपाली विद्यार्थीलाई पूर्ण र केहीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए। हाल थाइल्यान्डमा करिब पाँच सय नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गरिरहेका बताइएको छ। (रासस)