दिबस खनिया – अहिले रवी लामिछाने जेलको छिडीमा पुगेका छन्। नेपालमा मानिसहरु हिरासतलाई पनि जेल भन्ने गर्र्छन किनभने अदालतमा प्रमाण नपुगेका र प्रमाणले कहिल्यै जेल कोच्न नसक्ने व्यक्तिहरुलाई अनुसन्धानको लागि भन्दै प्रहरीले पक्रिन्छ र हिरासतको म्याद थप्दै मानसिक यातनाका साथ राख्छ। भ्रष्टाचार मौलाएको र कानुनको कार्यन्वयन गर्ने सवालमा चुकेको आम देशहरुमा हुने यो नियमित प्रक्रिया जस्तै हो। बिश्वव्यापी रुपमा भ्रष्टाचारको मापन गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाललाई दक्षिण एशिया कै दोश्रो बढी भ्रष्टाचार हुने देशमा राखेको थियो। ३३ किलो सुन तस्करीको छानविन शुरु हुन्छ, एक–दुई जना गोरे, काले करेन्ट लगाएर मारिन्छन, घटनाको गहन अनुसन्धान हुन्छ, अनि अन्तिममा फाइल गएर कुन दराजमा थन्किन्छ? कहिल्यै बाहिर निस्कन्न, कारण त्यही फाइल राख्ने दराज निकटको व्यक्ति पो हो कि ३३ किलो सुनको हर्ताकर्ता? निर्मला काण्ड होस् कि वाइड बडी घोटाला, मेलम्चीमा भ्रष्टाचार होस् या अरु यस्ता कति कति, देश यसै बन्छ संसारकै धेरै भ्रष्टाचार हुने देश? नेपालमा जो कसैलाई सोध्नुस, सबैभन्दा धेरै घुस खाने सरकारी निकाय कुन हो भनेर? जनताले निर्धक्क भएर भन्छन्, ‘‘यातायात र प्रहरी।’’ सुडान घोटाला, शान्ति सेनामा जानको लागि चलखेल र घुसखोरी आदि त प्रमाणित भइसकेका र भ्रष्टाचारी पुलिसले जेल भोगिसकेका घटना हुन्, प्रमाणित हुन बाँकी रहेका र प्रमाणमा नै नरहेका घटनाहरु त कति छन् कति। पैसा र पावर भए पनि पुलिस प्रयोग गरेर जे पनि गर्न सकिन्छ नेपाल जस्तो भ्रष्टाचारले गाँजेको देशमा। केही समय अघि मात्र यूट्युबमा फिल्मको समिक्षा राखेको आरोपमा प्रनेश गौतमलाई पुलिसले हिरासतमा राख्यो, पछि अदालत लैजाने प्रमाण पुगेन भनेर छोडिदियो। प्रनेशले पाएको मानसिक र शारीरीक यातनाको क्षतिपूर्ति कसले दिने? ती र त्यस्ता घटना त कति छन् कति, प्रकाशमा आउन नसकेर अँध्यारो कुनामा थन्किएका। जहाँ रावण हुन्छ, त्यहाँ राम पैदा हुन्छन, जहाँ कंसको राज हुन्छ, त्यहाँ मथुराको जेलको छिडीमा आधिरातमा कृष्ण पैदा हुन्छन र गलत तत्वलाई नस्ट गर्छन। त्यसरी नै देशको यस्तो भ्रष्ट परिस्थितिमा रवी लामिछाने, सुरेन्द्र के.सि, अपील त्रिपाठीजस्ता भ्रस्टाचार बिरोधी अभियन्ताहरु पैदा भइरहेका छन्। तिनीहरुमा पनि सबैभन्दा प्रभावशाली बनेर आइरहेका थिए, रबि लामिछाने। बैदेशिक रोजगारीमा देश तथा बिदेशमा ठगिनेहरु, मालपोत, राजस्व कार्यालय आदिमा ठगिनुपर्नेहरु, पुलिसलाई घुस नखुवाई काम नभएर हैरान हुनेहरु सबैका आशाका दीप थिए, हुन् र रहिरहनेछन् रवी लामिछाने। के रवीमाथी छानबीन गर्नै नहुने हो? अहिले सामाजिक संजालमा भ्रष्ट नेताको जुठो पुरो खाएर भजन गाउनेहरु लेख्छन ‘‘के रवी माथि छानबीन गर्न नपाउने हो?’’ तर कुरा यस्तो हो, यस्तो रहस्यमय काण्डमा के छानबीन गर्नुपर्ने रवी लामिछानेलाई मात्रै हो? प्रहरीले मुचुल्का उठाउँदा यातना दिएर हत्या भएको भनिएको छ, पछि एउटा अनलाइनमार्फत सार्वजनिक भएको भिडियोमा “रबि लामिछाने सहित अन्य २ जनाको कारण आत्महत्या गर्न वाध्य भएँ’’ भनिएको छ। अब लाटोले पनि सोझो दिमागले हेर्दा घटनामा केही न केही कैफत देख्न सक्छ। एउटा टेलिभिजन प्रस्तोता जस्तो व्यस्त सेड््युल भएको व्यक्ति रबि लामिछाने जसले हर समयमा हर प्रकारले प्रहरी अनुसन्धानलाई सहयोग गर्छु भनेर बाचा गरिरहेका थिए, उनलाई टेलिभिजनको कार्यालयभित्र पसेर छापामार शैलीमा पक्राउ गरी चितवनको हिरासतमा राख्नुले प्रहरी लगाएर कोही न कोहीले दुख दिने बदनियत राखेको त हैन भन्ने शँङ्का उब्जिनु स्वाभाबिक छ। प्रहरी तथा अनुसन्धान अधिकारीहरुको नियत राम्रै भए पनि र कानुन अनुसार अगाडि बढेको हो भनिएता पनि जनतालाई शँका उब्जिनु स्वभाविक हुन जान्छ। प्रारम्भिक चरण जसरी अगाडि बढाइयो त्यस्ले झन त्यो शँकालाई बल पुर्याएको छ। एक त भिडियो प्रहरीको विधिविधान प्रयोगशालामा अनुसन्धान भएको जनाइएकोमा एउटा अनलाइनबाट कसरी सार्वजनिक भयो र अनुसन्धान गरिएको भनिएको भिडियोको रिपोर्ट नआइ कसरी उनलाई गिरफ्तार गरियो? दोश्रो, हत्या कि आत्महत्या भन्ने कुरामा प्रहरीले नै मुचुल्कामा किन रडको डाम आदी इत्यादी लेखियो र पछी एउटा अनलाइनमा भिडियो देख्ने बित्तिकै आत्महत्या दुरुत्साहन भनी रवीलाई पक्राउ गरियो? यि र यस्ता कारणहरुले जनतालाई विश्वास श्रृजना गराएन र शँका उत्पन्न भयो। हुनु पर्थ्यो के? कोही पनि मनिसलाई अती देवत्वकरण वा अती राक्षसीकरण गरिनु हुँदैन। रवी लामिछाने पनि यस देशका नागरिक हुन र उनी कानुनभन्दा माथि कदापी छैनन र हुनु हुँदैन पनि। तर प्रश्न पक्राउ गर्नु हुँदैनथ्यो अथवा उनीमाथि अनुसन्धान हुनु नै हुँदैन भन्ने अर्थमा पनि बुझिनु हुँदैन। तर प्रकृया गलत पो भयो कि भन्ने मुख्य प्रश्न हो। हो प्रहरीसँग आत्महत्या नै हो भन्ने प्रमाणहरु सुरक्षित हुन पनि सक्छ? अनुसन्धानमा भेटिएका प्रमाण सार्वजनिक गर्नुपर्ने जरुरी पनि छैन तर भिडियो एउटा अनलाइनले कसरी सार्वजनिक गर्यो? त्यो पनि रबि लामिछानेसँग राम्रो सम्बन्ध छैन भन्ने आम–मनिसले बुझेको ब्यक्तीको हातमा नै त्यो भिडियो कसरी पुग्यो अथवा त्यो एउटा संयोग मात्र थियो? अनी एकछिनलाई मानौँ रवी दोषी हुन सक्ने आधार पनि प्रहरीसँग थियो रे, उनी जस्तो सामाजिक ब्यक्तित्वलाई गिरफ्तारी नै गर्नु पर्थ्यो? रवी स्वयमले पनि सार्वजनिक रुपमा नै भनीसकेका थिए कि, यदी प्रहरीले मलाई बोलाउँछ भने म जुनसुकै बेला पनि प्रहरी चौकीमा उपस्थित हुन तयार छु। के उनलाई बोलाएर अनुसन्धान गर्न सकिन्थेन र? आत्महत्या दुरुत्साहनबारेको बुझाई अब अर्को कोणबाट पनि हेरौँ, हो भिडियोमा जे भनियो त्यो सत्य नै हो अरे, शालीग्रामले आत्महत्या नै गरेका हुन अरे, यद्यपी यसको प्रमाण अझै पनि आउन बाँकी नै छ। त्यसो भयो भने पनि अब के आत्महत्या दुरुत्साहन भनेको यही नै हो त? हाम्रो कानुनले गरेको नयाँं व्यवस्था यही नै हो? अपराध हुनलाई ‘‘अपराधिक मनसाय’’ हुनैपर्छ। मनसायविनाको ‘‘दुरूत्साहन’’ अपराधिक दुरूत्साहन हुन सक्दैन। ‘‘मृत्युकालीन घोषणा’’ र ‘‘आत्महत्याकालीन घोषणा’’लाई एउटै तराजुमा राख्न सकिदैन, किनकी आत्महत्यामा गलत बुझाईका कारण, ईष्र्याका कारण वा ईगोका कारण पनि मानिस कसैप्रति पक्षपाती हुन सक्ने सम्भावना रहन्छ, जसका कारण उ नैरास्यतामा पुगी आफुँलाई समाप्त गर्न सक्छ। अब के यस्को सजाय जिउँदो मान्छेलाई दिन सकिन्छ? दुरुत्साहनको अर्थ कोही कसैले आत्महत्या गर्न प्रोत्साहन गर्यो अथवा बिष किनेर ल्याएर खान उत्प्रेरित गर्यो, आत्महत्या गर्न उक्सायो भने त्यो व्यक्ति कानुनी सजायको भागेदार हुनैपर्छ। तर कोही व्यक्तीले आत्महत्या गर्नु अगाडि भनेकै भरमा उसलाई दोषी ठहर गर्न सकिएला? कतिपय व्यक्तिहरु सोच्छन्, अहिले त त्यो रवी मात्र जेल परेको छ, हामीलाई के मतलव, फेसबूकमा रमिता हेरेर बस्ने हो, तर कुरा ‘‘बुढी मरी भन्ने हैन, काल पल्क्यो’’ भन्ने हो। त्यो कालले भोलि तपाई, हामी सबैलाई लैजान सक्छ। त्यसैले सबैजना सचेत बनौं। नेपालमा अनुसन्धानको प्रकृया ठीक छ? यो प्रकरणले गर्दा एउटा प्रश्न भने बहसको बिषय बनेको छ। यदी रवी दोषी नै ठहर भए त अहिले उठाउन खोजेको बिषयले प्राथमिकता नपाउला तर यदी दोषी ठहर नभए के हुन्छ? के हाम्रो अनुसन्धान गर्ने प्रकृया यस्तै नै हो? कोही निर्दोष व्यक्ती अनुसन्धानका लागि भन्दै पक्राउ पर्दै गर्दा उसको जीवनमा त्यसले के कस्तो असर पार्छ? त्यस्को जिम्मेवारी कसले लिने? उसलाई त्यसबिचमा पर्ने मानसिक असर, आफ्नो कार्यमा पर्ने असर, उसको परिवारलाई पर्ने असरको जिम्मेवार को हुने? यसतर्फ सोच्नु पर्ने बेला भएन र ?
- लेखक युवाहरुको क्षेत्रमा लामो समय काम गरेका युवा अभियन्ता तथा लाइफ कोच हुन।