काठमाडौँ, ६ माघ– नेपाली चलचित्र ‘रातो गलबन्दी’ मनिष थापाको निर्देशनमा बन्ने भएको छ। चलचित्रमा नायिका केकी अधिकारी र नायक तथा सङ्गीतकार कोशिश क्षेत्रीले स्क्रिन सेयर गर्ने भएका छन्।
शनिबार उर्लाबारीमा कार्यक्रम गरी चलचित्रको घोषणा गरिएको थियो। ९० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको चलचित्र प्रेमकथामा आधारित हुने बताइएको छ। उक्त घोषणासभामा लिड कलाकारको भने उपस्थिति थिएन।
नवराज लम्साल, हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको उक्त चलचित्रको शनिबारबाट छायाङ्कन शुरु भएको हो। चलचित्र पूर्वका विभिन्न स्थानमा छायाङ्कन हुनेछ। चलचित्रमा केकी अधिकारी, कोशिश क्षेत्री, बुद्धि तामाङ, रमेश बुढाथोकी, अर्जुन गुरुङ, यज्ञबहादुर कटुवाल लगायतका कलाकारको भूमिका रहनेछ।
चलचित्रमा गाउँ–शहरको परिवेशलाई समेटिने निर्देशक थापाले बताए। उनले भने, ‘एउटा स्तरीय चलचित्र बनाउन कुनै कसर बाँकी राख्ने छैनौँ।’ हिमाल कडरियाको कथा रहेको यस चलचित्रलाई सुमन योन्जनले खिच्नेछन्।