काठमाडौँ, ६ माघ – नेपाली समाजमा अझै महिला र पुरुषबीच विभेद रहँदै आएसँगै चलचित्र क्षेत्रमा पनि महिला र पुरुषमा विभेद देखिन्छ। पारिश्रमिकको विषयदेखि चलचित्र निर्माणसम्ममा महिलालाई कमजोर मानिन्छ।
निर्मात्री कृषा चौलागाईं रहेको चलचित्र ‘पलास’ रिलिजका लागि उनले निकै सास्ति खेप्नुपरेको थियो। चलचित्र छायाङ्कनपछि निर्देशक सुवास कोइरालाले यो चलचित्रबाट हात झिकेका थिए।
निर्देशकले चलचित्र छाडेपछि निर्मात्रीलाई गाह्रो त भई नै हाल्छ। चलचित्रको प्रचारप्रसारदेखि प्रविधिक सबै काममा आफू नै दौडिनुपर्ने हँुदा समस्या भएको थियो।
चलचित्रलाई निर्देशकले जुन सोचका साथ अगाडि बढाएको हुन्छ, त्यसलाई एउटी निर्मात्रीले गर्न गाह्रो हुन्छ। तर, निर्मात्री कृषाले आफ्नो चलचित्र रिलिज गरेरै छाडिन्।
चलचित्र व्यावसायिक हिसाबले असफल भए पनि हलसम्म पुग्न सफल भयो। यसै विषयमा नायिका रेखा थापाले भनेकी थिइन्, ‘एउटा पुरुष निर्देशकले महिला निर्मात्रीलाई जे गरिदिए पनि हुन्छ भन्ने सोचेका छन्। यो चलचित्रको निर्देशक नै कृषा हुन्। चलचित्र निर्देशन बीचमै छाडेर जानेलाई म भा’को भए के गर्थें, मलाई नै थाहा छ।’ चलचित्रको निर्देशन बीचमै छाडेका निर्देशक सुवाससँग कृषाभन्दा रेखा आक्रोशित देखिन्थिन्।
अहिले ‘प्रेमलीला’की नायिका तथा निर्मात्री दीपशिखा खड्कालाई पनि त्यस्तै भएको छ। चलचित्रको आधा काम सकिएपछि निर्देशक जनक पाण्डे चलचित्रबाट बाहिरिएका छन्। चलचित्रको बाँकी काम चलचित्रकी नायिका तथा निर्मात्री दीपशिखाले पूरा गरेकी छन्। हाल चलचित्र रलिजका लागि तयार भएको छ।
दीपशिखाले पत्रकार सम्मेलनमा भनिन्, ‘मैले निर्देशकलाई लात हानेर निकालिदिएकी हुँ। चलचित्रमा म आफैँले आफ्नो नाम निर्देशकका रूपमा राख्न सक्थेँ तर त्यसो गरिनँ।’
त्यस्तै नायिका तथा निर्मात्री उमा बेबीले पनि यो समस्या झेल्नु परेको छ। उनले निर्माण गरेको चलचित्र ‘कहीँ कतै’लाई सविर श्रेष्ठले निर्देशन गरेका थिए। चलचित्रको रिलिज अगाडि नै उनले आफ्नो चलचित्र ‘बाँध मायाँले’का लागि यसलाई छाडेका थिए। उमा एक्लै चलचित्र प्रसारप्रचारमा लागिन्। चलचित्रले व्यावसायिक रूपमा सफलता हात पार्न सकेन। यस्तै महिलामाथि भएको हेपाइका विभिन्न उदाहरण चलचित्र क्षेत्रमा पनि देख्न सकिन्छ।