काठमाडौँ, ६ माघ – कामको पारिश्रमिक नपाउने कलाकारहरू नेपाली रजतपटमा धेरै छन्। चलचित्रमा काम गरेपछि पारिश्रमिक नपाएका कलाकारहरू अाफ्नो दैनिकी चलाउन समेत सकसमा पर्ने गरेका छन्।
पारिश्रमिक नपाउने कलाकारहरूमध्ये प्रदीप खड्का एक हुन्। उनले आफू अभिनित चलचित्र ‘रोज’बाट १० लाख रुपैयाँ पारिश्रमिक पाएका छैनन्।
निर्माताबाट पारिश्रमिक नपाए मुद्दा हाल्ने चेतावनी उनले दिएका छन्। उनको चेतावनीपछि धेरै कलाकारले आफ्नो समस्या मिडियासामु बताउन थालेका छन्।
नाम चलेका कलाकारलाई नै निर्माताबाट आफ्नो पारिश्रमिक लिन समस्या भएपछि नयाँ कलाकार त झन् मारमा पर्ने नै भए।
निर्माताहरू चलचित्र निर्माण अगाडि तोकेको पारिश्रमिक चलचित्र रिलिज भएपछि पनि नदिने वा सम्पर्कविहीन नै हुने गरेका छन्।
त्यस्तै अभिनय क्षेत्रमा लामो समय बिताएका वरिष्ठ कलाकार राजाराम पौडेलले पनि आफ्नो पारिश्रमिक नपाएको बताएका छन्।
उनले नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’का निर्माताबाट पारिश्रमिक नपाएको जनाए।
प्रदर्शन मिति नजिकिँदै गरेको चलचित्र ‘पुरानो बुलेट’का निर्माताबाट नायिका वर्षा शिवाकोटीले आधा मात्रै पारिश्रमिक पाएकी छिन्।
उनले भनिन्, ‘शनिबार टिमबाट फोटो सुटका लागि बोलाउनुभएको थियो। मैले पारिश्रमिक नपाएसम्म अब केही नगर्ने बताएकी छु।’
पारिश्रमिक नपाएसम्म चलचित्रको प्रचारप्रसार तथा अन्य कुनै काम नगर्ने शिवाकोटीले बताइन्। चलचित्र ‘जय शम्भु’बाट पनि बल्लतल्ल पारिश्रमिक पाएको उनी बताउँछिन्।
हाल ‘वीर विक्रम–२’ को छायाङ्कनमा व्यस्त नायिका शिवाकोटीले भनिन्, नयाँ टिमसँग काम गर्दा धेरै यस्तो समस्या झेल्नु परेको हो।
पुराना निर्मातासँग काम गर्दा कुनै समस्या नआएको बताउँदै उनले अगाडि भनिन्, पुराना निर्माताले कलाकारको मर्म बुझ्ने, तर नयाँ निर्माताबाट कलाकारलार्इ पारिश्रमिक लिनै गाह्रो छ।
‘पुरानो बुलेट’का निर्देशक भीषण राईले केही दिनमा वर्षालाई पारिश्रमिक उपलब्ध गराउने बताएका छन्। उनले भने, ‘पारिश्रमिक नदिने भन्ने हुँदै–हुँदैन। अहिले वर्षा वीर विक्रम–२ को सुटिङका लागि मुस्ताङमा रहेकी छन्, सुटिङबाट फर्किएपछि उनलाई पारिश्रमिक उपलब्ध गराउने छौँ।’