काठमाडौं – सन् २०२० को पहिलो दिनदेखि सगरमाथा क्षेत्रमा पातला प्लास्टिक र पेयपदार्थ राखिने प्लास्टिकका बोतल निषेध गर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्णयप्रति धेरैको चासो बढिरहेको पाइन्छ।
सगरमाथा क्षेत्रमा त्यसरी प्लास्टिक निषेध गर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्णयबारे राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यममा चर्चा हुने क्रम जारी छ। यसै वर्षको वसन्त ऋतुमा आयोजित सफाइ अभियानका क्रममा सगरमाथा हिमाल क्षेत्रबाट ११ हजार केजीभन्दा बढी फोहोरमैला सङ्कलन गरिएको थियो।
विश्वकै एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको सगरमाथा क्षेत्रमा प्लास्टिकसहित अन्य फोहरमैला बढ्ने क्रम नरोकिएकोप्रति चिन्ता व्यक्त भइरहेको बेला खुम्बु पासाङल्हामु गाउँपालिकाको गाउँसभाले गत साउन २७ त्यस्तो निर्णय गरेको हो।
त्यसअनुसार आगामी ज्यानुअरी १ (पुस १६ गते) देखि गते ३० माइक्रन्स (०.०३ मिलिमिटर) भन्दा कम मोटाइ भएका प्लास्टिकका झोला र पेयपदार्थ राखिने प्लास्टिकका बोतल खुम्बु क्षेत्रमा निषेधित हुनेछन्। गत वर्ष झन्डै एक लाख ५० हजार पर्यटकहरूले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए। गाउँपालिकाका अनुसार तीमध्ये ७५ हजार अन्तर्रा्ष्ट्रिय पर्यटक थिए भने ७५ हजार नेपालका आन्तरिक पर्यटक थिए।
सगरमाथा क्षेत्रमा कति फोहर?
सन् २०१८मा आयोजित सगरमाथा सफाइ अभियानका क्रमा सङ्कलित फोहोरसँगै लुक्लाका स्थानीय बासिन्दाहरू। खुम्बुमा सिसाका बोतलहरू पहिलेदेखि नै प्रतिबन्धित छन्। विश्वको सर्वोच्च शिखर र अन्य मनमोहक हिमचुली रहेको सोलुखुम्बु पदयात्रा र पर्वतारोहणका लागि विश्वप्रसिद्ध छ। सगरमाथा राष्ट्रिय निकुञ्जको प्राकृतिक विविधता र अद्वितीय शेर्पा संस्कृति र जीवनशैली त्यस क्षेत्रको अर्को आकर्षण हो।
तर बढ्दो पर्यटकीय गतिविधिका कारण सगरमाथा क्षेत्रमा उच्च हिमाली क्षेत्रदेखि तल्ला भेगसम्मै फोहरमैला बढ्दै गइरहेकोप्रति चिन्ता व्यक्त हुन थालेको पनि लामो समय भइसकेको छ। पर्तारोहण गर्न जानेकोहरूको बढ्दो चापका कारण उच्च हिमाली भेगसमेत प्रदूषित र दुर्ग्न्धित हुन थालेको आरोहीहरू बताउँछन्।
सगरमाथा क्षेत्रको सफाइमा सक्रिय संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति
(एसपीसीसी) का अनुसार गत वैशाख(जेठ महिनामा आयोजित सफाइ अभियानको क्रममा सगरमाथा क्षेत्रमा १० हजार ५०० केजी फोहरमैला सङ्कलन गरिएको थियो।
‘त्यसमध्ये झन्डै आधा (अर्थात् पाँच हजार केजी) पुन प्रयोग गर्न सकिने खाल्को फोहरमैला थियो,’ एसपीसीसीकी जनसम्पर्क अधिकृत याङ्जी शेर्पाले भनिन्। ‘आधा चाहिँ प्रयोग गर्न नसिकिने खाल्को फोहोर थियो। याङ्जी शेर्पाका अनुसार पुन प्रयोग गर्न सकिने सगरमाथाको फोहर विमान तथा हेलिकप्टरमा राखेर काठमाण्डू ल्याइएको थियो, जहाँ एक निजी कम्पनीले ती फोहरबाट विभिन्न सामग्री बनाउने गर्छ। याङ्जी शेर्पाले भनिन्, ‘सफाइ अभियानमा जम्मा भएको हिमाली क्षेत्रको फोहोर काठमाण्डू ल्याइयो। तर खुम्बुका नाम्चे, लुक्ला र अन्य बस्तीमा थुप्रै फोहोर निस्किन्छ। त्यसलाई स्थानीय रूपमा व्यवस्थापन गरिन्छ।’
प्लास्टिक निषेधका फाइदा के?
सगरमाथा क्षेत्रको भ्रमणमा जाने पदयात्री तथा पर्वतारोहीहरूले प्लास्टिकमा पोको पारिने चकलेट, चाउचाउ, बिस्कुटजस्ता खाद्य सामग्रीहरू लैजाने गर्छन्। पर्यटककै उपभोगका लागि खुम्बु क्षेत्रमा पेयपदार्थ हालिएका प्लास्टिकका बोतलहरू समेत ढुवानी गर्ने गरिएको छ।
सगरमाथा क्षेत्रमा स्थानीय रूपमा व्यवस्थापन गर्न सकिने मलमूत्र र अन्य जैविक फोहरका अतिरिक्त पर्वतारोहीले प्रयोग गर्ने त्रिपाल, पोसाक, झोलाका अवशेषका अतिरिक्त फलाम, एलुमुनियमजस्ता धातु र प्रयोग गरिएका विभिन्न प्रकारका ब्याट्रीहरू फ्याँकिने गरेको छ।
गाउँपालिकाकी उपाध्यक्ष टाशील्हामु शेर्पाका अनुसार फोहोरको ठूलो हिस्सा प्लास्टिकले ओगट्ने गरेको छ, जसलाई खुम्बुका विभिन्न बस्तीमा बनाइएका खाल्टोहरूमा जम्मा गरेर जलाउने गरिएको छ। तर प्लास्टिक जलाउँदा विषाक्त रसायनयुक्त वायु निस्कन्छ, जसले स्थानीय वन, वातावरण र जनस्वास्थ्यमा नकारात्मक असर र्पुयाइरहेको हुन्छ।
‘त्यसैले हामीले खुम्बु क्षेत्रमा प्लास्टिक निषेध गर्ने नीति लिइएको हो,’ शेर्पाले बीबीसी न्यूज नेपालीसँग भनिन्। ‘अब हामी स्थानीय समुदायहरूको सहयोगमा प्लास्टिकलाई पूरै निषेध गर्न गइरहेका छौँ।’ ‘त्यसपछि वातावरण राम्रो हुन्छ र खुम्बुको सौन्दर्यमा कुनै कमी आउन पाउँदैन।’
स्थानीय अधिकारीहरूका अनुसार प्लास्टिक निषेध गर्दा गाउँपालिकाको फोहोरमैला व्यवस्थापन खर्च पनि जोगिन्छ। उदाहरणको लागि हालैको सगरमाथा सफाइ अभियान सञ्चालन गर्न विभिन्न सरकारी, निजी तथा गैरसरकारी निकायले झन्डै तीन करोड रुपैयाँ बराबरको योगदान गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेश घिमिरेले बताए।
प्लास्टिक निषेध कार्यान्वयन कसरी?
तीस माइक्रन्स (०.०३ मिलिमिटर) भन्दा कम मोटाइ भएका प्लास्टिक र प्लास्टिकका बोतल निषेध गर्ने कार्य सहज नभएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अधिकारीहरू स्वीकार्छन्। खुम्बुमा यसअघि प्लास्टिक निषेध गर्ने प्रयास विफल भएको थियो। झन्डै पाँच वर्षअघि प्लास्टिकका झोला उत्पादकहरूको विरोधलाई चिर्दै, राजधानी काठमाण्डूमा पनि प्लास्टिकका झोला निषेध गर्ने योजना बनाइएको थियो। तर २०७२ साल वैशाखको विनाशकारी भूकम्पपछि त्यो योजना विफल हुन पुग्यो।
खुम्बु पासाङल्हामु गाउँपालिकामा चाहिँ प्लास्टिक निषेध गर्ने योजना सबैभन्दा पहिला वार्षिक नीति तथा कार्यक्रममा समेटियो। हालै गाउँसभाले त्यसलाई पारित गरेपछि प्लास्टिक निषेध कार्यान्वयन गर्न बाटो खुलेको हो। प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार ज्यानुअरी १ देखि प्लास्टिक निषेध गर्नुअघि गाउँपालिकाका झन्डै दुई हजार घर परिवारलाई प्लास्टिकको विकल्पको रूपमा पाँच थरी झोला वितरण गर्ने योजना बनाइएको छ। ‘साथसाथै गाउँपालिकाले आफ्नै स्वास्थ्य तथा सरसफाइ ऐन, नियमावली र कार्य्विधि बनाउँदैछ,’ घिमिरेले भने। ज्यानुअरी १ नेपाल भ्रमण वर्ष २०२० आरम्भ हुने दिन पनि हो।
सगरमाथा क्षेत्रमा प्लास्टिक निषेध गर्ने नियम अटेर गर्नेलाई के सजाय होला त?
गाउँपालिका उपाध्यक्ष टाशील्हामु शेर्पा भन्छिन्, ‘त्यसबारेमा हामीले अहिले कुनै निर्णय गरिसकेका छैनौँ। तर त्यो नियम लागु हुने दिन आउनुअघि नै हामीले गाउँपालिकाको बैठकबाट कुनै निर्णय अवश्य गर्नेछौँ।’
चुनौतीपूर्ण किन?
सगरमाथा क्षेत्रमा प्रकृति संरक्षणको जिम्मेवारी पाएको अर्को निकाय पनि कार्यरत छ। सगरमाथा राष्ट्रिय निकुञ्ज। डनिकुञ्जको मुख्य कार्यालय नाम्चेबजारनजिकै छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका विचारमा अद्वितीय प्राकृतिक सम्पदा र जैविक विविधतायुक्त सगरमाथा निकुञ्जभित्र प्लास्टिक निषेध गर्ने गाउँपालिकाको निर्णय स्वागतयोग्य छ।
‘त्यसले प्रकृति संरक्षणमा धेरै सहयोग गर्नेछ,’ भट्टराईले भने। ‘तर जताततै प्लास्टिक प्रयोग हुने अहिलेको समयमा प्लास्टिक निषेध गर्ने काम उत्तिकै चुनौतीपूर्ण पनि छ।’ गाउँपालिका उपाध्यक्ष शेर्पा भन्छिन्, ‘प्लास्टिक निषेध गर्ने हाम्रो योजना सफल बनाउन सबैको हातेमालो आवश्यक छ।’ (बीबीसी)