रामेछाप – खाँडादेवी गाँउपालिका – ३ भिरपानी कोथवेका किशोरीहरु जंगलमै बनाईएको गोठमा बास बसेर अध्ययन गरिरहेका छन्् । रामेछाप र सिन्धुली जोड्ने सुनकोशी नदीमा पुल नहुँदा उनिहरु जंगलमै बसेर भोलपल्ट विद्यालय जाने गरेका छन्।
हिँउदमा नदी सानो हुँदा ट्युब बाट वारपार गर्ने गरेपनि बर्षातको समयमा भने नदी बढ्ने भएकोले कोथवेमा कोशी किनारमा बसोबास गर्दै ६० घरधुरी सिमान्तकृत माझी समुदायका बालिकाहरु सुनकोशी नदी तरेर छिमेकीे जिल्ला सिन्धुलीको कोशी गाँउपालिका ३ झाँगाझोलीमा रहेको श्री मावि गुटबजारमा अध्ययन गर्दै आएका छन् ।
घर नजिकै माध्यमिक तहको विद्यालय नभएका कारण गाउँमा भएको प्राथमिक तहपछि कति साथीहरुले पढाइ छाडेर बस्ने गरेता पनि १४ जना किशोरीहरुको पढ्ने रहरलाई भने सुनकोशी नदिले पनि छेक्न सकेन। ८ देखी १० कक्षा सम्म अध्ययनरत उनिहरु जांगलको विचमा रहेको खुल्ला ठाँउमा बनाईएको गोठमा बास बसेर भोलीपल्ट मात्रै विद्यालय जानेका गरेका छन् ।
आफुहरु बस्ने गोठ जंगलको बीच र एकान्तमा भएकाले कोही केटा मान्छे आउने हो कि भन्ने डर संगै जंगली जनावरले मार्ने डरका कारण रातभर निदाउन नसक्ने भएपनि अध्ययनलाई पुरा गर्नको लागी त्यँहा बस्न बाध्य भएको शुसीला माझी बताइन् ।
सुनकोशीमा पुल नहुँदा त्यहाँका माझी समुदाय काठको डुङ्गाबाट वारपार गर्ने गर्दथे । पछिल्लो समय डुङ्गा बनाउने काठ पाइन छाडेपछि उनीहरु ट्युबको माध्यमबाट वारपार गर्दछन् । घर नजिकै पुल नहुँदा त्यहाँका विद्यार्थीहरु २ घण्टा टाढा रहेको भिरपानीको सित्खा भन्ने ठाउँको झोलुँगे पुल तरेर सिन्धुलीको रातामाटामा पढ्न जाने गरेका थिए ।अहिले पुलतिर जाने गोरेटो बाटो पनि मध्यपहाडी राजमार्ग निर्माणका क्रममा माथिबाट झारेको माटोले अवरुद्ध भएपछि उनीहरु जंगलमा नै बास बस्न बाध्य भएका हुन् ।
कोशीमा पुल नभएका विषयमा पटकपटक कुरा उठाए पनि नेताहरु चुनाव जितेपछि नफर्किएका कोथवेकी स्थानीय ज्ञानु माझी बताउनुभयो । माझी समुदायको खेतीयोग्य जमीन सुनकोशी पारी सिन्धुली जिल्लामा छ ।२०३७ सालतिर कोशी सिन्धुली जिल्लाको रातामाटा धार हुँदै बग्ने गरेकोमा पछि धार परिर्वतन गरेर रामेछापको कोथवेतर्फ गएपछि माझी समुदायको खेतीयोग्य जमीन सिन्धुलीपटि परेको हो ।
त्यस क्षेत्रमा झण्डै १ हजार रोपनी खेतीयोग्य जमीन रहेको छ । कोशीमा पुल नभएर हैरानी खेप्दै आएका माझी समुदायले पुलका लागि गाउँपालिकाको कार्यालयमा निवेदन पेश गरेमा आवश्यक पहल गर्ने खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर तामाङले जानकारी दिनुभयो ।