इलाम – सामुदायिक विद्यालय भन्ने वित्तिकै धेरैले कमजोर शिक्षा हुन्छ भन्ने सम्झन्छन् र सामान्यतया पुरानो भवन, फोहोर अनि अव्यवस्थित कक्षा कोठा तथा सेतो चकले कालो पाटीमा लेखेको चित्र कल्पना गर्छौँ। तर कतिपय सरकारी विद्यालय भने यो मान्यता र सोँचलाई गलत सावित गर्दै नमुना विद्यालयको रुपमा परिचय बनाउन सफल भएका छन्।
जुन विद्यालयले आफ्ना विद्यार्थीहरुलाई प्रविधी विकासका सेवा सुविधा र समयानुकुल शिक्षा प्रदान गर्नको लागी हामीले कल्पना गर्ने चित्रबाट माथी उठ्दै प्रविधिमैत्री वातावरणमा शिक्षा प्रदान गर्न थालेका छन्। ईलामको सहरमुख स्थित रहेको आदर्श उच्च माध्यामिक विद्यालयलाई त्यस्तै नमुना विद्यालयको रुपमा विकास गर्न लागिएको छ।
इलामकै जेठो विद्यालयको रुपमा रहेको आदर्श उच्च माध्यामिक विद्यालयले एक करोड बराबर रकम खर्च गरि विद्यालय भवन तथा कक्षा कोठालाई प्रविधि मैत्री बनाई पठनपाठन सुरु गरेको छ। वि.स २००४ सालमा स्थापना भएको विद्यालयले पठनपाठनमा प्रविधि विकास संगै समय अनुकुल सुधार सुधार गरेर विद्यालयलाई नमुना विद्यालय बनाउने योजनालाई केन्द्र र प्रदेश सरकारले आर्थिक सहयोग गरेका छन्।
सुचना प्रविधिमैत्री स्मार्ट स्कुलको रुपमा विकास गर्नको लागी केन्द्र र प्रदेश सरकारले उपलब्ध गराएको करिब एक करोड रुपया खर्चेर विद्यालयले कम्प्युटर, प्रोजेक्टर लगायत प्रविधि जोहो गरेको हो। प्राप्त सहयोगबाट विद्यालयमा २ वटा कम्पुटर ल्यापटप, ईन्टरनेटको सुविधा संगै हरेक कक्षा कोठामा प्रोजेक्टर, ल्यापटप र स्मार्ट बोर्डको समेत व्यवस्था गरिएको छ।
कक्षा कोठा प्रविधिमैत्री भएपछि विद्यार्थीलाई कितावी बाहेकको ज्ञान दिन समेत सजिलो भएको शिक्षक कुमार पौडेलले बताए। डिजिटल प्रविधिले शिक्षकहरुलाई समेत पठन पाठनमा सहज भएको र यो विधिको सिकाई प्रभावकारी र सहज हुने जानकारी उनले दिए।
शिक्षकले एकोहोरो अध्यापन गराउने विधि भन्दा स्मार्ट बोर्डमा भिडियो हेर्दै अध्ययन गराए फरक र सहज तरिकाले अझ धेरै ज्ञान दिन सकिने उनको भनाई छ। तर विद्यालयमा प्रयाप्त दक्ष जनशक्तिको भने अझै समस्या रहेको विद्यालयले जानकारी दियो। अङग्रेजी माध्ययममा समेत अध्यापन हुने विद्यालयमा अहिले करिब १८ सय विद्यार्धी रहेको विद्यालयले जानकारी दिएको छ।