सल्यान — दुई महिनादेखि गणित विषयको शिक्षक नभएका कारण पठनपाठनबाट बञ्चित भएको भन्दै सिद्धकुमाख गाउँपालिका–३ कुईयाझोलमा रहेको देउराली माविका विद्यार्थीले अनिश्चित कालसम्म तालाबन्दी गरेका छन्। बारम्बार शिक्षकको माग राख्दै आएपनि विद्यालयले चासो नदेखाएकपछि विद्यार्थीहरुले नै विद्यालय तालाबन्दी गर्न बाध्य भएका हुन्।
गणित शिक्षक भर्ना नगरेसम्म विद्यालयमा लगाएको ताला नखोलिने विद्यार्थीले चेतावनी दिएका छन्। गणित शिक्षक टोपबहादुर भण्डारी असार ६ गते सरुवा भएर अन्यत्र गएपछि गणित लगायत सामाजिक, कम्प्युटर विषयको पढाई हुन छाडेको विद्यालयका छात्र बेदबहादुर बोहराले बताए। अनिवार्य गणित विषय पढाई नहुँदा आफूहरु मारमा परेको उनले जानकारी दिए।
विद्यालय व्यवस्थापन समितिलाई बारम्बार शिक्षक ल्याउन माग गरेपनि अहिलेसम्म कुनै सुनुवाई नभएको विद्यार्थीहरुले बताएका छन्।शिक्षक टोपबहादुर भण्डारी सरुवा भएर गएदेखि त्यसपछि गणितका कुनै पाठ अगाडी नबढेको छात्रा भुमा बस्नेतले बताइन्। ‘दुई महिना त्यत्तिकै बितिसक्यो। चाडपर्व आउँदैछ। बिदा हुन्छ, हामीले कहिले किताबको पाठ पुरा गर्ने’ उनले भनिन्,‘ विद्यालयले समयमै ध्यान दिन आवस्यक छ।’
विद्यार्थीले विद्यालय तालाबन्दी गरेपछि कक्षा १ देखि १० सम्मका झण्डै चार सय बालबालिकाको पढाइ प्रभावित भएको छ। विद्यालयका प्रधानाध्यापक मोतिराम बुढाथोकीले शिक्षा आयोगले शिक्षक पठाउने भनेकाले शिक्षक भर्ना नगरेको र आयोगले अहिलेसम्म शिक्षक नपठाएकाले अभाव भएको बताए। विद्यार्थीले तत्काल माग गरेकाले शिक्षक भर्ना गर्ने व्यवस्था मिलाउन थालेको उनले जानकारी गराए।