काठमाडौं– एसीसी यु–१९ एसिया कपमा अफगानिस्तानसँग पाकिस्तान ८५ रनले पराजित भएको छ। १६३ रनको लक्ष्य पछाएको पाकिस्तान १९.४ ओभरमा ७८ रनमा अलआउट भएको हो। पाकिस्तानका लागि इरफान खानले १९ र रोहइल नाजिरले १६ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानहरुले दोहारो अंक समेत बनाउन सकेनन्।
पाकिस्तानलाई सस्तोमा समेट्ने क्रममा अफगानिस्तानका साफिकुलाह घफारीले ४ ओभर बलिङ गर्दै १५ रन दिएर ३ विकेट लिएका लिए। त्यस्तै नुर अहमद, अबिदुलाह तानीवाल र फजल हाकीइले २–२ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ४६ ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो।अफगानिस्तानको लागि सेदिक्वलाह अतलले सर्वाधिक २९ तथा राहमुन्लाहले २७ रनको योगदान दिएका थिए। त्यस्तै नुर महमदले १३ बलमा १७ रन हान्दै नट आउट रहेका थिए।
पाकिस्तानका लागि आमिर अली र फहद मुनिरले समान ३–३ विकेट लिएका थिए। अफगानिस्तानलाई सामान्य योगफलमा रोक्न नसिम शाहले ९ ओभरमा २ मेडेन राखेर मात्र १३ रन दिदै १ विकेट लिएका थिए।