काठमाडौं– श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कपमा भोली (शुक्रबार) नेपालले आयोजक राष्ट्र श्रीलंकासँग खेल्दैछ। उपाधिको दाबेदार टेष्ट राष्ट्रलाई पराजित गर्दै नेपाल प्रतियोगितामा शुखद शुरुवात गर्ने दाउमा छ। नेपाली टिममा सन्तुलनसँगै अनुभवी खेलाडी भएको कारण नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छ।
उसो त नेपालले श्रीलंका विरुद्धको ऐतिहासिक हारको पनि बदला लिनुपर्ने छ। २०७३ मंसिर ३० गते एसीसी यु–१९ एसिया कपमा नेपाल श्रीलंकासँग १ रनले हारेको थियो। बलिङ नै मुख्य हतियार बनाइरहेको नेपालले ब्याटिङमा भने सुधार गर्नुपर्ने देखिन्छ। सेमिफाइनल पुग्ने लक्ष्यका साथ श्रीलंका पुगेको नेपाली टोलीका प्रशिक्षकमा विनोद दास रहेका छन्। नेपाली टिमले सम्झनलायक प्रदर्शन गर्नेमा उनी विश्वस्त छन्।
नेपालले यही प्रतियोगिताको तयारीस्वरुप श्रीलंकाको घरेलु टिमहरुसँग अभ्यास खेल पनि खेलिसकेको छ। जसमा दुई खेल हारेको थियो भने एक खेल जितेको थियो।नेपाली टिममा कप्तान रोहित पौडेलसँगै पवन सर्राफ, सन्दीप जोरा, भीम शार्की, रित गौतम, आशिफ शेख, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरि, सागर ढकाल, खड्कबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी छन्।
नेपालले दोस्रो खेल बंगलादेशसँग भदौ २२ गते खेल्नेछ भने समूह चरणको अन्तिम खेल यूएइसँग भदौ २४ मा खेल्नेछ।