एजेन्सी– स्पेनले युरोकप छनोटको खेलहरुमा अपराजित यात्रा कायमै राखेको छ। युरोकप छनोटमा लगातार पाँचौ जित दर्ता गर्ने क्रममा स्पेनले रोमानियालाई २–१ गोलले हराएको छ।
बिहिबार भएको खेलमा स्पेनले २९औं मिनेटमा पेनाल्टी पाएको थियो। पेनाल्टीको सदुपयोग गर्दै सर्जियो रामोसले स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै पाको अल्कासेरले ४७औं मिनेटमा गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाएका थिए।
फ्लोरिन एन्डनले खेलको ५९औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेको भएपनि त्यसपश्चात कुनै गोल नभएपछि रोमानियाले अंक गुमाउनुपर्यो।
खेलमा स्पेनका खेलाडी डिएगो लोरेन्टेले सिधै रातो कार्ड पाएका थिए। एक खेल पनि नहारेको स्पेन समूह ‘एफ’ मा १५ अंकसहित शीर्षस्थानमा रहेको छ ।