डोल्पा- हवाई उडानको समस्यमको कारण डोल्पामा बीएड प्रथम वर्षको परीक्षा अन्योलमा परेको छ। नेपालगञ्जबाट हवाई मार्ग हुँदै प्रश्नपत्र ल्याइने भएकाले बीएड तेस्रो वर्षका धेरै परीक्षार्थी आत्तिएका छन्।
क्याम्पस प्रमुख धनन्जय सुबेदीले डोल्पो क्याम्पसमा शुक्रबार दिउँसो १२ बजेदेखि सुरु हुने बीएड प्रथम वर्षको परीक्षाका लागि प्रश्न पत्र नपुगेपछि विद्यार्थीलाई नआत्तिने आग्रह गरेका छन्।
डोल्पाको मौसममा आएको समस्याले गर्दा जहाजले उडान भर्न नसकेको हुनाले प्रश्नपत्र नेपालगञ्जमै अड्किएका हुन्। परीक्षार्थीहरु प्रश्नपत्र नपुगेपछि चिन्तित भएका छन्। जहाजबाट परीक्षा नियन्त्रण कार्यालयले पठाएका प्रश्नपत्र नपुगेपछि परीक्षा नियन्त्रण कार्यालयले जिल्ला प्रशासनमा इमेल गरेर परीक्षा सञ्चालन गर्ने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार जिल्ला प्रशासनको इमेलमा जाँच शुरु हुनु केहीँ अगाडी प्रश्न पत्र आउने र सम्बन्धित निकायको रोहोबरमा प्रश्नपत्र निकालेर परीक्षा संचालन गरिने बताए।
परीक्षा नियन्त्रण कार्यालयसँग समस्याका बारेमा सहकार्य भएकाले परीक्षा समयमा हुने प्रजिअ केशरीले बताए। पहिलो दिन फाउण्डेशन एण्ड हेल्थ एजुकेशन विषयको परीक्षामा लिकु सयुंक्त क्याम्पसबाट २५ जना डोल्पो क्याम्पसबाट नियमित ५४ जना र अन्य गरि करिब १ सय जना परीक्षार्थी सहभागी हुने क्याम्पस प्रमुख धनन्जय सुवेदीले जानकारी दिए ।
मौसमका कारण डोल्पाबाट नेपालगञ्ज र नेपालगञ्जबाट डोल्पा यात्रा गर्ने यात्रुहरु अलपत्र परेका छन। डोल्पाको जुफाल बिमानस्थलमा तारा, गोमा ,सिता र नेपाल एयरले उडान भर्ने गर्छन्।