काडमाडौं– श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कपमा नेपालले आयोजक राष्ट्र श्रीलंकासँग ५ विकेटको हार बेहारेको छ। १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ३३.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो।
श्रीलंकाका लागि कामिल मिश्रले सर्वाधिक ५५ रनको योगदान दिए। उनले ६२ बलमा ३ चौका र २ छक्का प्रहार गरेका हुन्। त्यस्तै अहान विक्रमसिंहले ३६ बलमा ३० रनको पारी खेले। नेपालका लागि रासिद खानले २ विकेट लिए भने पवन सराफ र कमल सिंह ऐरी तथा सागर ढकालले १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा १ सय ५९ रन बनाएको थियो। एक समय धर्मरायको नेपाली टिमलाई लयमा ल्याउन कप्तान रोहित पौडेल र रित गौतमले उत्कृष्ट साझेदारी गरेका थिए। नेपालको लागि रित गौतमले अर्धशतकीय पारी खेल्दै ८५ बलमा ५४ रन बनाएका थिए। त्यस्तै कप्तान पौडेलले ८० बलबाट ४७ रन बनाएका थिए। । श्रीलंकाका लागि दिलशान मधुशंक र नाभोद परनाभिथानाले समान ३–३ विकेट लिएका थिए। वर्षाका कारण केहि समय रोकिएको खेललाई ४२ ओभरमा झारिएको थियो।
नेपाली टिममा कप्तान रोहित पौडेलसँगै पवन सर्राफ, सन्दीप जोरा, भीम शार्की, रित गौतम, आशिफ शेख, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरि, सागर ढकाल, खड्कबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी छन्।नेपालले दोस्रो खेल बंगलादेशसँग भदौ २२ गते खेल्नेछ भने समूह चरणको अन्तिम खेल यूएइसँग भदौ २४ मा खेल्नेछ।