काठमाडाैं– फेसबुक पछिल्लो समयमा सबैभन्दा प्रसिद्ध सामाजिक सञ्जाल हो। यसले मानिसहरुलाई मित्रताको बन्धनमा बाँध्ने मात्रै नभएर टाढा टाढा भएका आफ्ना आफन्त तथा साथीहरुलाई नजिकै बनाएको छ ।सामाजिक सञ्जालमा फेसबुकले एकातिर मित्रता, सम्बन्धको नयाँ संसार प्रदान गरेको छ भने अर्कोतिर यही फेसबुकको माध्यमबाट ठगी, लुट र यौन शोषण पनि हुँदै आएको छ।
फेसबुकको माध्यमबाट कति निर्दोष महिलाहरुको अस्मिता लुटिएकोछ। यसप्रकारका घटनाहरु आज दिनहुँन जस्तो सुन्न र देख्न परेको छ। फेसबुकको माध्यमबाट प्रेम हुने र पछि धोका पाउने कुरा त सामान्य भइसकेको छ। फेसबुकको माध्यमबाट चोरी, लुटपाट, अपहरण, हत्याकोे खबर पनि बारम्बार आइरहेका छन्। त्यसैले फेसबुकको प्रयोग अति नै सावधानीपूर्वक गर्नु आवश्यक हुन्छ। यदि फेसबुकको जादुमयी जालमा फस्नु भयो भने तपाईं ठगिने धेरै सम्भावना हुन्छ।फेसबुकको संसार हामी वरपरको मानिसबाट नै बनेको हुन्छ। पहिला पनि यस्ता घटनाहरु नभएका त होइनन् तर यस्ता घटनाको लागि फेसबुक झन् सजिलो माध्यम बनेको छ।
महिलाहरु बन्दैछन् शिकार
फेसबुकमा पुरुषको तुलनामा महिलाहरु धेरै पीडित हुने गरेका छन्। अरुलाई छिट्टै विश्वास गर्ने स्वभावका महिलाहरु सजिलै यस्ता जालझेलमा फस्दछन्।फेसबुकमा साथी बन्दा धेरै कुराहरु विचार गर्नु पर्छ। यदि तपाईंले दायाँबायाँ नसोची, आँखा बन्द गरेर साथी बन्ने प्रस्ताव स्वीकार गर्नुभयो भने कुनै न कुनै तरिकाले तपाईं मूर्ख बन्नु हुन्छ।जसका कारण यौन शोषणको शिकार हुनुको साथै आर्थिक रुपले ठगिन सक्नु हुन्छ।अञ्जान व्यक्तिले तपाईंको बारेमा सबै कुरा पत्ता लगाएर साथी बन्ने प्रस्ताव पठाएको हुनसक्छ। उसले आफ्नो स्वार्थ हुने समयसम्म तपाईंसँगको मित्रतालाई यथावत राख्छ।
जुन दिन तपाईंसँगको स्वार्थ पूरा हुन्छ, उसले तपाईंलाई फ्रेन्ड लिस्टबाट हटाइदिन सक्छ। यसबीचमा तपाईंले आफ्ना धेरै कुरा गुमाइसक्नु भएको हुन्छ।यस्ता घटनाहरुमा कोही महिला सजिलै फस्ने गर्छन्। अञ्जान व्यक्तिलाई साथी बनाउँदा उनीहरुले शुरु–शुरुमा त मिठा–मिठा कुरा गर्छन्। केही समयको कुराकानीपछि फोन नम्बर आदान–प्रदान हुन थाल्छ र भेटघाट गर्ने, उपहार आदान–प्रदान गर्ने पनि हुन थाल्छ। समय बित्दै जाँदा शारीरिक सम्बन्ध पनि रहन थाल्छ। यसरी फेसबुकबाट गाँसिएको मित्रता यो हदसम्म आइपुग्छ र विभिन्न अप्रिय घटनाहरु हुन थाल्छ।
प्रहरीले गर्ने आलटाल
फेसबुकको मित्रतामा ठगिने र यौन शोषणको शिकार हुने व्यक्तिहरुको रिपोर्ट प्रहरीले सहजै दर्ता गर्दैनन्। प्रहरीले त्यस्ता घटनाहरु जटिल हुने भएकाले पनि उजुरी लेख्न गाह्रो भएको हो। प्रहरीहरुसँग पनि त्यस्ता घटनाहरुको बारेमा पत्ता लगाउने धेरै साधनहरु छैनन्।त्यसैले कुनै–कुनै घटनाहरुमा प्रहरीले आरोपीलाई पक्राउ गरेर पीडितलाई न्याय दिलाएका छन्। फेसबुक क्राइम नै अलि कठिन विषय भएकाले प्रहरीलाई पनि यो सम्बन्धमा जाँचबुझ गर्न गाह्रो हुन्छ, र समय पनि धेरै लाग्न सक्छ।सामाजिक सञ्जाल जाग्रुक्ता प्रसारित गर्ने, आफ्नो जीवनलाई सुन्दर बनाउने एउटा राम्रो मञ्च हो भन्ने कुरामा दुई मत छैन।
तर सिक्काको अर्को पाटोको रुपमा फेसबुकको माध्यमबाट अपराधहरु बढ्न थालेको कुरा पनि बिर्सनु हुँदैन। वास्तवमा फेसबुक अथवा कुनै पनि माध्यम तपाईंबाट सामान्य समझदारीको अपेक्षा राख्छ र हामी स्वयं सतर्क भएनौं भने नोक्सान त हाम्रो नै हुन्छ।यी कुराहरुलाई ध्यान दिएर यदि हामी फेसबुकको जादुमयी संसारमा प्रवेश गप्यौँ भने हाम्रो कसैले पनि केही बिगार्न सक्दैन।फेसबुकमा साथी बन्दा हामीले आफ्नो सीमा कहिल्यै भुल्नु हुँदैन। यसको प्रयोगमा तपाईं मानसिक रुपले पनि बलियो हुनु आवश्यक हुन्छ।
अन्य माध्यमहरु जस्तै फेसबुकको प्रयोग धेरै कुराले फाइदाजनक भए तापनि कुनै–कुनै कुराले हानिकारक पनि छ। त्यसैले यसको प्रयोग सतर्कताका साथ गर्दा यसबाट क्षति बेहोर्नु पर्दैन। हरेक कुराको केही राम्रा र केही नराम्रा पाटाहरु हुन्छन्। कस्तो पाटो औंल्याउने त्यो हामीमा भर पर्छ, त्यसैले फेसबुकको प्रयोग पनि सावधानीका साथ गर्नुपर्छ।