एजेन्सी–बलिउड अभिनेत्री काजोल र अभिनेता अजय देवगन विवाह वन्धनमा बाँधिएको २१ वर्ष भइसकेको छ। काजोलले अजयसँग २५ वर्षको उमेरमा प्रेम विवाह गरेकी हुन्। उनी आफ्नो करियरमा माथिल्लो स्थरमा पुगिसकेकी थिइन्। धेरैजसो नायिकाहरू करियरको उच्च श्रेणीमा पुग्दा वैवाहिक जिवनमा बाँधिन डराउँछन् तर काजोलले भने आफूलाई यस विषयमा फरक देखाइन्। यस्तो अवस्थामा उनले किन विवाह गरिन् भन्ने बारेमा केही वर्ष पहिले अन्तरवार्तामा भनेकी थिइन्।
‘मैले काम गर्न थालेको ९ वर्ष भइसकेको थियो। प्रत्यक वर्ष ४–५ वटा फिल्म आइरहेका थिए। मसँग सबै कुरा थियो। नाम, दाम र सफलता तर आफ्नै लागि समय र आराम भने थिएन। एउटा ठूलो निर्णय लिने समय त्यही नै थियो। त्यो बेला मैले अब विवाह गर्छु र वर्षमा धेरै गरे एउटा फिल्म गर्छु भन्ने सोचेँ’, यी कुराहरु उनले अन्तरवर्तामा भनेकी थिइन्। काजोल र अजयको पहिलो भेट ’हलचल’ नामक फिल्मको सुटिङको बेला भएको थियो। उक्त फिल्मपछि उनीहरू थुप्रै हिट फिल्ममा एकसाथ देखिए। सँगै काम गर्ने क्रममा उनीहरूबीच मित्रता बढ्दै गयाे। यसरी काम गर्दा गर्दै उनीहरूको मित्रता प्रेममा बदलियो र सन् १९९९ मा उनीहरूले विवाह गरे।