काठमाडाैं– विश्वकपको दोस्रो चरण छनोट अन्तर्गत भोली नेपालले चाइनिज ताइपेइसँग खेल्दैछ। खेलका लागि नेपाली टोली ताइपेइ प्रस्थान गरिसकेको छ। आफ्नो पहिलो खेलमा लज्जास्पद हार बेहोरेको नेपालले खेलमा धेरै सुधार गर्नुपर्ने देखिन्छ। नेपाल पहिलो खेलमा कुवेतसँग ७–० को गोलअन्तरले पराजित भएको थियो। नेपाल र ताइपेइले सन् २०१९ को जुनमा अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा १–१ को बराबरी खेलेका थिए।
नेपाल र ताइपेइबीचको खेल मंगलबार नेपाली समयअनुसार साँझ ५ बजे हुनेछ। पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक योहान कालिनले नेपाल खेलको लागि तयार रहेको बताएका छन्। नेपाली टोलीले कुवेत जानुपूर्व पनि प्रशिक्षण गरेको थियो भने ताइपेइ पुगेपछि पनि प्रशिक्षण गरेको उनले बताएका छन्। कुवेतविरुद्धको खेलमा डिफेन्समा कमजोरी भएको र त्यसलाई अबको खेलमा सुधार्नुपर्ने उनको भनाइ थियो।
ताइपेइसँग नेपालले सम्हालिएर खेल्नुपर्ने छ। नियमित कप्तान विराज महर्जन टिममा नपरेपछि किरण चेम्जोङले कार्यवाहक कप्तानको जिम्मा पाएका छन्।नेपाली टिममा किरण चेम्जोङसँगै विकेश कुथु, विशाल श्रेष्ठ, सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्यालका साथैरोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन्।
विश्व कप छनोटमा नेपाल, कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपे एउटै समुहमा छन्।