काठमाडाैं– नेपाल सरकारले रोजगार गर्ने सबैलाई अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको छ। यससँगै प्यान लिनेका संख्या ह्वात्त्तै बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्म २१ लाख ७२ हजार २ सय जनाले स्थायी लेखा नम्बर लिएका थिए।
तर चालु आर्थिक वर्ष २०७६/०७७ शुरु भएको एक महिनामै सो संख्या बढेर २४ लाख ६३ हजार १ सय १४ पुगेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। साउन महिनामा प्यान लिनेको संख्या १३ प्रतिशत भन्दा बढीले बढेको छ।
अर्थ मन्त्रालयका अनुसार २०७६ साउन मसान्तसम्म १२ लाख १४ हजार ५ सय २१ जनाले व्यवसायको स्थायी लेखा नम्बर लिएका छन् भने १२ लाख ४७ हजार ४ सय ८९ जनाले करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। थप २ लाख ९० हजार ९ सय १४ करदाताले साउन महिनामा मात्रै स्थायी लेखा नम्बर लिएका छन्।
त्यस्तै साउन महिनामा मात्रै ११ हजार ३ सय २२ नयाँ करदाताहरु मूल्य अभिवृद्धि करमा दर्ता भएका छन्। २०७६ साउन मसान्तमा मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख २५ हजार ९२ पुगेको बताइएको छ।