एजेन्सी– स्टार खेलाडीबिना अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शानदार जित दर्ता गरेको छ। बुधबार बिहान सम्पन्न खेलमा अर्जन्टिनाले मेक्सिकोलाई ४–० ले हराएको हो। अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले उत्कृष्ट खेल खेल्दै ह्याट्रिक गरे।
खेलको १७ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिएका थिए। त्यस्तै २२ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्ब्र बनाएका थिए।आक्रमक देखिएको अर्जेन्टिनाले खेलको ३३ औं मिनेटमा पेनाल्टी पाएको थियो र त्यसको सदुपयोग गर्दै पारेडेसले अर्जेन्टिनालाई ३–० को स्थितिमा पुर्याएका थिए।
त्यस्तै ३९ मिनेटमा मार्टिनेजले ह्याट्रिक गर्दा टिमले ४–० को जित निकालेको हो।अर्जेन्टिनाको टिममा लिओनल मेसी, सर्जियो अग्युरो र एन्जल डि मारिया भने थिएनन्।
अर्को मैत्रीपूर्ण खेलमा ब्राजिल भने स्तब्ध भएको छ। पेरुविरुद्ध मैदान उत्रिएको ब्राजिलले १–० को हार बेहोरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ८५ औं मिनेटमा पेरुका अब्रामले गरेको गोल नै निर्णायक बन्यो।
यस जितले कोपा अमेरिका २०१९ को फाइनलमा ब्राजिलसँग पराजित भएको पेरुलाई भने खुशी मिलेको छ। यससँगै ब्राजिलको १७ खेलको अपराजित यात्रा भने टुङ्गिएको छ।