खोटाङ - खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी १९ वर्षीया सम्झना कसैको साथ पाए म पनि केही गर्न सक्छु दुवै हात नभएकी सङ्घर्षशील सम्झना राई आइतबार दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा १२ को मौका परीक्षा दिइन्। सम्झनाले खोटाङ बजारस्थित भगवती दीनानाथ माविबाट नियमित परीक्षा दिएकी थिइन्।
निम्न आर्थिकस्तरको परिवारमा दुवै हातविहीन जन्मनुभएकी सम्झनाले सानै उमेरदेखि नै कष्टपूर्ण ढङ्गले अध्ययन गर्दै आएकी थिइन्। कक्षा १२ को नियमित परीक्षामा अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भएपछि मौका परीक्षा दिनका लागि दुई दिन लगाएर दिक्तेल आएकी हुन्।
भगवती दीनानाथ माविका नियमित तथा जेहेन्दार विद्यार्थीका रूपमा रहेकी सम्झना खुट्टाले नै लेखेर कक्षा–१ देखि ११ कक्षासम्म उत्तीर्ण भएकी हुन्। विद्यालय टाढा भएकाले शुरु–शुरुमा पढाइ छाडौँ कि भन्ने लागेको थियो तर मनले मान्दै मानेन। घरबाट एक घण्टाभन्दा बढीको बाटो हिँडेर विद्यालय आवतजावत गर्नुपर्दा शुरु–शुरुमा विद्यालय छाडौँ जस्तो पनि लागेको उनले सुनाइन्।
कुमदेखि नै हात नभएकी सम्झना खुट्टाकै भरमा सबै काम गर्छिन्। दुवै हात नभए पनि आफू पढाइ–लेखाइमा साथीहरुभन्दा कम नभएको उनको भनाइ छ। जसरी भए पनि पढ्नैपर्छ भन्ने लागेर दुःखकष्ट गरिरहेकी छु।
सम्झना आफैँ कपडा लगाउन, फेर्न तथा खाना खान सक्दिनन् उनले भनिन् ,अहिले आमासँगै मावलीघर सोही गाउँपालिका–६ मा पर्ने इन्द्रेणीपोखरी बस्दै आएकी शारीरिकरूपमा अशक्त भएकाले पनि मैले त झनै पढ्नैपर्छ भन्ने लागेर पढाइलाई निरन्तरता दिइरहेकी छु।”
घरायसी काममै अल्झिएका सम्झनाका बुबाआमाको इच्छा पनि छोरीलाई धेरै पढाउनु नै रहेको उनले सुनाइन्। सम्झनाको अबको अध्ययन यात्रा निश्चित छैन तर सम्झनासँग लगनशीलता, धैर्य र आत्मबल देखिएको छ।
“शारीरिक हिसाबले म जस्ता र मभन्दा कमजोर अवस्थाकाले पनि धेरै राम्रो र ठूलो काम गरेर नाम कमाउने छु । झमककुमारी घिमिरेलाई प्रत्यक्ष भेटेको उनले सुनाइन्। “धरानमा मैले उहाँलाई प्रत्येक्ष भेटेँ। उहाँले भेट्न बोलाउनुभएको रहेछ”, उनले भनिन् झमककुमारीबाट आफूले धेरै हौसला पाएकी छु।
उहाँले लेख्नुभएको ‘जीवन काँडा कि फूल’ पढेँ, साह्रै राम्रो लाग्यो, रोएँ पनि अनि धेरै कुरा बुझेँ पनि। झमकुमारीले लेख्नुभएको उक्त पुस्तकले आफूलाई जीवन र सङ्घर्ष भन्ने बुझ्न मद्दत गरेको सम्झनाको भनाइ छ।
सबैको माया र साथ पाए आफू पनि देश र समाजका लागि केही न केही गर्ने अठोट आफूभित्र रहेको उनको भनाइ छ। सम्झनाको अध्ययन निरन्तर अघि बढोस् भनेर यसअघि विभिन्न सङ्घसंस्थाले सहयोग पनि गरेका छन्। साथै नेपाल सरकारबाट भने मासिक रु ६०० भत्ता पाउने गरेको सम्झनाले जनाइन्।
पढाइसँगै गीत,सङ्गीत र साहित्यमा समेत रुचि राख्नुहुने सम्झनाका लागि यसअघि एरिया वेलफेयर सेन्टर दिक्तेलले पनि भौतिक सहयोग गदै आएको उनीले जानकारी दिइन्।