काठमाडौँ – नायक अनुप विक्रम शाही, विक्रम जोशीको साथमा बलिउड नायिका सन्नी लियोनीको आइटम गीत समावेश चलचित्र ‘पासवर्ड’ आजबाट रिलिज भएको छ। सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्रको बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर समेत गरियो। प्रिमियरमा चलचित्रलाई औषत प्रतिक्रिया मिलेको छ।
यो चलचित्रसँगै अर्को नेपाली चलचित्र ‘हिरो नम्बर १’ पनि रिलिज भएको छ। यस्तै, भदौ १३ गतेबाट रिलिजमा आएर सुखद व्यापार गरिरहेको चलचित्र ‘मारुनी’ आजबाट तेश्रो सातामा प्रवेश गरेको छ। पहिलो साताको सोमबारदेखि व्यापारि रफ्तार समातेको यो चलचित्रले दोश्रो सातामा पनि सुखद व्यापार गरेको थियो।
अर्को साता, नयाँ चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुने भएकाले ‘मारुनी’लाई यो साताको व्यापार महत्वपूर्ण छ। नवल नेपाल निर्दे्शित यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङ मुख्य भूमिकामा छन्। पूनम गौतम चलचित्रकी निर्मात्री हुन्।