काठमाडौं– बैवाहिक अङगीकृत नागरिकताका विषयमा छलफलहरु भइरहेका छन्। संसदको राज्य व्यवस्था समितिमा चलिरहेको नागरिकता सम्बन्धी विधेयकमाथिको छलफलमा विदेशी ज्वाँईलाई १५ वर्ष र विदेशी बुहारिलाई ७ वर्षपछि नागरिकता दिने व्यवस्था गर्ने प्रस्ताव भएको छ। यद्यपी यस विषयमा सहमति भने भइसकेको छैन।
छलफलका आधारमा बनेको प्रतिवेदनमा महिला र पुरुषलाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ। नेपाली पुरुषसँग विवाह गरेर आउने महिलालाई नेपाले ७ वर्षपछि नागरिकता उपलबध गराइने र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहने पुरुषलाई भने १५ वर्षपछि मात्र नागरिकता उपलब्ध गराउन प्रस्ताव गरिएको छ। उक्त प्रस्तावमा विदेशी महिलाको लागि केही सहज व्यवस्था गरिएको छ भने पुरुषको हकमा भने कडा शर्तपश्चात मात्र नागरिकता दिइने कुरा उल्लेख छ।
विहे गरी नेपाल आएका विदेशी महिलालाई सात वर्षसम्मका लागि राजनीतिक बाहेक अन्य अधिकारको सुनिश्चितता हुने वैवाहिक परिचयपत्र दिन प्रस्ताव गरिएको छ भने विदेशी पुरूषलाई भने १५ वर्ष नेपालमै बसेको हुनुपर्ने, असल चालचलन भएको र नेपालमा बोलिने कुनै एक भाषा जानेको हुनुपर्ने कडा कानुनी व्यवस्था गरिएको छ।
छलफलमा उठेका विषयलाई समेटेर ल्याइएको यो प्रतिवेदनमाथि शनिबार छलफल थप छलफल हुने बताइएको छ।