काठमाडौं– इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार दिउँसो ४ बजेतिर काठमाडौंको बसन्तपुर पुगेकी छन्। राष्ट्रपति भण्डारीलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले स्वागत गरेका छन्।
आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पतन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ।