सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाद्वारा विपन्न नागरिकहरुलाई रु आठ लाख बराबरको निःशुल्क सेवा प्रदान गरिएको छ। प्रतिष्ठान जुम्लाले गत आव २०७५०७६ मा पैसाका अभावमा उपचार गर्न नसकेका २ सय ८६ गरिब, दलित र विपन्न नागरिकलाई निःशुल्क उपचार सेवा प्रवाह गरेको हो।
कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, दैलेख, बाजुरा, अछाम, बझाङ्लगायतका जिल्लाका विपन्न नागरिकलाई रु आठ लाख बराबरको निःशुल्क उपचार सेवा उपलब्ध गराईएको प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईंले जानकारी दिए।
त्यहाँका विपन्न नागरिकलाई हड्डी, एपेन्डीसाइट, पित्तथैलीजस्ता ठूला रोगको शल्यक्रियामा निःशुल्क सेवा प्रदान गरेका निर्देशक गोसाईंले बताएका छन्। यसले हिमाली जिल्लाका गरीब तथा विपन्न वर्गका नागरिकलाई स्वास्थ्य उपचारमा न्यायको अनुभूति दिलाएको छ। विशेषज्ञ तथा गुणस्तरीय स्वास्थ्य सेवाका कारण अहिले नेपालगञ्ज, सुर्खेतबाट जुम्ला प्रतिष्ठानमा उपचार गर्ने आउनेको आकर्षण बढ्न थालेको उनले बताए।
प्रतिष्ठान जुम्लाले गत आव २०७५०७६ मा ४५ हजार ८ सय ३२ नागरिकको सबैखाले रोगको उपचार गरेको र सुरक्षित सुत्केरी गराउनेको सङ्ख्यामा पनि वृद्धि भएको उनले बताए। उनका अनुसार गएको वर्ष दुई हजार ६ सय ०५ साना र ६ सय ७१ जनालाई जटिल खालका रोगको शल्यक्रिया गरिएको थियो।
प्रतिष्ठानले स्त्रीरोग, बालरोग, हड्डी, एनेस्थेसिया, नाक, कान, घाँटी, दाँतको विशेषज्ञ उपचार सेवाका साथै आफ्नो कार्य क्षेत्रका १३ जिल्लामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले राससलाई जानकारी दिए। रजिष्ट्रार काफ्लेले प्रतिष्ठानले मानसरोवर कैलाश पर्वतमा जाने भारतीय तीर्थयात्रीलाई हिल्सामा विशेषज्ञ स्वास्थ्य शिविर राखेर उपचारसमेत दिएको बताए।
उनका अनुसार हाल प्रतिष्ठानले जनरल मेडिसिनसर्जरी, ब्लड बैंक, एक्सरे, सामदायिक स्वास्थ्य सेवा, कोलोनोस्कोपी, युएसजी, इसिजीसिटी स्क्यान, प्याथोलोजी, पेडियाट्रिक, साइकीयाट्रिक, इन्डोस्कोपी, आइसीयुलगायतका सेवा उपलब्ध गराएको छ।
प्रतिष्ठान कर्णालीवासीको जीवन रक्षा गर्ने थलो बन्दै गएको स्थानीय मुना रावतले बताए। रावतले भने, जुम्ला अस्पताल हुँदा सिटामोलको ट्याब्लेट पाइँदैनथ्यो। हात खुट्टा भाँचिदा, सुत्केरी हुन नसक्दा आइएनएफलाई गुहार्नु पथ्र्यो। पैसा खर्च गरे पनि केही सुत्केरी महिलाको जीवनबीचैमा जान्थ्यो। न जीवन बाँच्थ्यो, न धन रहन्थ्यो।
विगतमा नेपालगञ्ज, काठमाडौँ गएर उपचार नगरेकाले प्रतिष्ठानमा उपचार महँगो भयो भन्ने गरेकाे तर उता पुगेर खर्च र दुःख भोगेकाले यहाँ तीन भाग सस्तो छ भन्ने गरेकाे उनले थपेकाे छन्। उनका अनुसार कर्णालीवासीले कर्णालीमै उपचार पाउनु भाग्य हो। प्रतिष्ठान जुम्लामा ३ सय शैया बनेपछि कर्णालीवासीकाे अहिले स्वास्थ्य सेवा प्राप्तिमा सहज पहुँच भएको छ। (रासस)