काठमाडौं - वीरगंजकी किशोरी नाजमिन (परिवर्तीत नाम) माथी एसिड आक्रमण गर्नेहरुमाथि कडा कारवाही हुनुपर्ने सरोकारवालाले बताएका छन्।
तराई-काठमाडौं बिद्यार्थी समाजले शनिबार काठमाडौंको माइतीघर मण्डलामा आयोजना गरेको सडक नाटक तथा बिरोध कार्यक्रमका वक्ताहरुले नाजमीनले न्याय पाउनुपर्ने बताए।
उद्यमशिल कांग्रेसका संयोजक अस्मिन सिटौलाले दोषिहरुमाथी कडा कारवाहीको माग गर्दै सामाजिक सचेतना बृद्धि हुनुपर्नेमा जोड दिए। ‘आज तपाईहरु सडकमा आएर दबाब दिइरहनुभएको छ, भोली यो कुरा फेरी संसदमा पनि उठोस,’ उनले भने।
सरसफाई अभियन्ता के पी खनालले युट्युब पत्रकारीताले पिडितहरुमाथी थप पिडा थपिरहेको बताए। ‘पत्रकारीता समाज परिवर्तनको लागि हुनुपर्छ, सत्यतथ्य बाहिर ल्याउनका लागि हुनुपर्छ, न की लाईक, शेयर र सब्सक्राईबको लागि,’ उनले भने, ‘युट्युबरहरुले गर्दा थप पिडा भइरहेको हुन्छ।’
देशभक्त लोकतान्त्रिक पार्टीका केन्द्रिय प्रवक्ता जलेश्वर सर्राफले एसिड आक्रमणजस्तो पाशविक क्रियाकलापमा संलग्नहरू समाजको दुश्मन भएको बताए।
यसैगरी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा वीरगंजका युवा नेता प्रभाकर गुप्ताले नाजमीनमाथीको एसिड आक्रमणले समाजलाई लज्जित बनाएको बताए। ‘उनीमाथी एसिड आक्रमण भयो भन्ने सुनेर पिडाभन्दा पनि लज्जाबोध भयो,’ उनले भने, ‘यसरी युवतीहरुमाथी आक्रमण हुनु हामी राजनितीक दलका व्यक्तिहरुको लागि निकै ठुलो लज्जाको बिषय हो।’
तराई–काठमाडौं बिद्यार्थी समाजका अध्यक्ष रुपक पटेलले नाजमिनलाई अन्याय हुन नदिन आफुँहरुले निरन्तर खबरदारी गरिरहने बताए। ‘नाजमिनको अहिले उपचार भइरहेको छ, हामीहरु उनलाई हरेक तवरबाट सघाउन चाहन्छौ।’
एम जी ग्रुप र सानो पाइलाको सहयोगमा सम्पन्न भएको कार्यक्रममा चेतनामुलक सडक नाटक पनि प्रस्तुत गरिएको थियो।
