काठमाडौं — लिम्बु कविहरु सम्मिलित कविता तङ्सिङ् – २०७६ सम्पन्न भएको छ। याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। शनिबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सहभागी कविहरुले लिम्बुवानी इतिहास, कला र संस्कृतिमा आधारित पहिचानवादी कविताहरु वाचन गरेका थिए।
कार्यक्रममा २२ कविहरु हाङयुग अज्ञात, बिमला तुम्खेवा, स्वप्निल स्मृति, प्रकाश थाम्सुहाङ, चन्द्रवीर तुम्बापो, प्रकाश आङ्देम्बे, मुनाराज शेर्मा, राज माङ्लाक, देवेन्द्र सुर्केली, सुन्दर कुरुप, प्रदीप मेन्याङ्बो, संगम सुहाङ, साङ्सेन वारक, मधु केरुङ, विष्णु नेम्बाङ, अप्सरा लावती, रञ्जना लिङ्देन, उत्तम लिम्बु, रोहित आङबो, सीता तुम्खेवा, सनि लिम्बु र बच्चु हिमांशुको कवितावाचन रहेको थियो।
ज्ञानोदय बालबाटिका स्कूल, ललितपुर, इतर आवाज साहित्य समाज, दक्षिण कोरिया र याक्थुङ लेखक सङ्घ, दक्षिण कोरिया समितिको सहप्रायोजन रहेको कविता तङ्सिङ् (२०७६ यसै वर्ष याक्थुङ लेखक संघ, उपत्यका समिति गठन भएसंगै आयोजना गरिएको पहिलो कार्यक्रम हो।
कार्यक्रममा तुम्याङको रुपमा बैरागी काइँला, अभि सुवेदी, बालकृष्ण माबुहाङ, येहाङ लावती, श्रवण मुकारुङ, योगराज वनेम, इन्दिरा याक्थुङ्बा, अमर तुम्याहाङ र निरन्ती तुम्बापो रहेका थिए। तुम्तुम्याहाङ अर्थात प्रमुख तुम्याहाङको रुपमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले कविता तङ्सिङ् एउटा सुन्दर अवधारणाको रुपमा सुरु भएको बताए।
त्यस्तै कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै अर्का तुम्याहाङ प्राज्ञ कवि श्रवण मुकारुङले कविता तङ्सिङ् एउटा अविश्मरणीय, उच्च कोटीको, ऐतिहासिक र सुसंस्कृत अभियानका रुपमा सुरु भएको बताए। कविता, संगीत, संस्कृति र विचारको सुन्दर समायोजनद्वारा समग्र मानवजीवनको वेदना प्रस्तुत भएको उनले बताए।
ब्लिस म्यूजिकको सहकार्यमा रैथाने सङ्गीत समूहको पार्श्वसङ्गीत रहेको उक्त अन्प्लग्ड कवितावाचन कार्यक्रमको सङ्गीत संयोजन समूहकी संस्थापक झूमा लिम्बुले गरेकी थिइन्।