एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा पराजय भएको छ। गए राती भएको खेलमा नर्विच सिटीले म्यानचेस्टर सिटीलाई ३–२ को नमिठो हार चखाएको हो।
नर्विच सिटी यसै सिजन प्रिमियर लिगमा बढुवा भएको थियो। नर्विचको घरेलु मैदानमा भएको खेलमा १८औं मिनेटमा इमिलियानोको पासमा केन्नीको गोल गर्दै नर्विचलाई शुरुवाती अग्रता दिएका थिए। त्यस्तै पहिलो गोलको १० मिनेटपछि नै टोड क्यान्टेवलले गोल गर्दै घरेलु टोलीलाई २ गोलले अगाडी बढाएका थिए।
तर पहिलो हाफको इन्ज्युरी समयमा सर्जियो अगुइरोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै म्यानचेस्टर सिटीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। पहिलो हाफमा २–१ को स्थितिमा सकिएको खेलको दोस्रो हाफको शुरुमै टिमु पुक्कीले गोल गर्दा घरेलु टोली नर्वीचलाई ३–१ को अग्रता दिलाए। खेल सकिन केहि समय बाँकी रँहदा म्यानचेस्टरका रोड्रिले गोल गरेपनि टोलीको हार टार्न भने सकेनन्।
प्रिमियर लिगमा सिटीको अपराजित यात्रा भने यो सिजनको लागि टुङ्गिएको छ। म्यानचेस्टर सिटी १० अंक जोड्दै पहिलो स्थानको लिभरपुलभन्दा ५ अंकले पछाडि परेको छ।